दिल्लीमा महिलालाई बस तथा मेट्रो सेवा निशुल्क

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले छिट्टै महिलालाई दिल्लीमा बस र मेट्रो सेवा निशुल्क गर्ने घोषणा गरेका छन् ।सोमबार एक प्रेस कन्फ्रेन्सको आयोजना गरी केजरीवालले महिलाहरू अब दिल्लीमा निशुल्क यात्रा गर्न सक्ने घोषणा गरेका हुन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रेस कन्फ्रेन्स मार्फत महिलालाई उपहार दिंदै अब छिट्टै डीटीसी बस र क्लस्टर बस तथा मेट्रोमा निशुल्क यात्रा गराउने बताएका हुन् ।
केजरीवालले टिकट किनेर यात्रा गर्न चाहने महिलाले टिकट किन्न सक्ने पनि पत्रकारहरूलाई बताएका छन् ।
केजरीवालले दुईदेखि तीन महीनाभित्र यो व्यवस्था लागू गर्ने बताएका छन् । दिल्ली सरकारका अनुसार यस वर्ष मात्रै यसमा ७०० देखि ८०० करोड भारतीय रुपैयाँ खर्च हुनेछ । यो सबै दिल्ली सरकारले व्यहोर्ने बताइएको छ ।
उनले अधिकारीहरूलाई यसबारे बस तथा मेट्रोमा कसरी लागू गर्नेबारे प्रस्ताव तयार पार्न निर्देश गरेका छन् ।
केजरीवालले भनेका छन्, “यसमा केन्द्र सरकारको अनुमति आवश्यक छैन । बसमा सुरक्षाका लागि सीसीटीभी र मार्सल पनि राखिने छ ।”
दिल्लीमा अहिले बस तथा मेट्राेमा ३० देखि ३३ प्रतिशत महिला यात्रा गर्छन् ।
–एजेन्सी