सिक्किमको नयाँ मुख्यमन्त्रीमा पीएस गोले तामाङ

शिक्षण पेशा छाडेर राजनीतिमा लागेका प्रेमसिंह तामाङ उर्फ पीएस गोले सिक्किमको राजनीतिमा चर्चित नेता हुन।
पश्चिम जिल्लाको सोरेङअन्तर्गत सिलिङमा ६ फेब्रअरी १९६८ मा जन्मेका गोले सन् १९९४ मा पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) गठन भएपछि शिक्षण पेशा छोडेर सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन्।
उनी एसडीएफ पार्टीका संस्थापक सदस्य हुन। राजनीतिमा सक्रिय भएपछि तत्कालीन नरबहादुर भण्डारीको शिक्षा विभागले उनलाई शिक्षकबाट निष्कासित गरेको थियो।
त्यसपछि १९९४ मा विधानसभाको चुनावमा उनी तत्कालीन च्याखुङ समष्टिबाट निर्वाचित भए। पहिलोपटक राज्य विधानसभा छिरेका उनी एसडीएफ सरकारमा पशुपालन, धर्म र उद्योग विभागका मन्त्री बनेका थिए। उनी तामाङ समुदायबाट मन्त्री बन्ने सिक्किमकै पहिलो व्यक्ति हुन्।
उनी १९९९ मा पुनः च्याखुङ समष्टिबाट दोस्रोपटक विधानसभामा निर्वाचित भए। दोस्रो कार्यकालमा पनि उनी पशुपालन र उद्योग विभागका मन्त्री बने।त्यसपछि २००४ सालमा च्याखुङ समष्टिबाट ह्याट्रिक गर्दै निर्वाचित भए भवन तथा आवास विभाग, खेलकुद तथा युवा मामिला विभागका मन्त्री बने।
सन् २००७ सालमा राज्यको निर्वाचन क्षेत्रको पुनर्सीमांकन हुँदा च्याखुङ समष्टि छुट्टै क्षेत्र रहेन। त्यसपछि २००९ को निर्वाचनमा उनलाई राजधानी गान्तोक नजिक अप्पर बुर्तुक निर्वाचन क्षेत्रबाट एसडीएफ उम्मेदवार बनाइयो। यो निर्वाचनमा पनि उनी फराकिलो मतले चुनाब जिते पनि मन्त्री पद भने पाएनन्।
सरकारमा आफूलाई मन्त्री नबनाएपछि गोले र चामलिङबीचको सम्बन्ध चिसिँदै गयो। बिस्तारै उनले चामलिङ र एसडीएफ सरकाविरुद्ध बोल्न शुरु गरे। करिब पाँच वर्ष पवन चामलिङ र एसडीएफ सरकारको विरोध गरेपछि ४ फब्रुअरी २०१३ मा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी गठन गरी आधिकारिक रूपमा पवन चामलिङ र एसडीएफ सरकारविरुद्ध ओर्लिए।
२०१४ को निर्वाचनमा १० क्षेत्रमा विजय हासिल गर्दै एसकेएम राज्यको प्रमुख विपक्षी पार्टीको रूपमा उदायो। करिब १० वर्षको संघर्षपछि हालै सम्पन्न निर्वाचनमा १७ स्थानमा जित हासिल गर्दै गोलेले एसडीएफको २५ वर्षे सत्तालाई उल्टाएर सिक्किमको छैटौं मुख्यमन्त्री बनेका छन् @ नेपालखबर |