सिक्किमको मुख्यमन्त्रीमा सपथ लिँदै पी एस गोले, चाम्लिङले बहिस्कार गर्ने

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ गोलेले सोमबार सिक्किमको मुख्यमन्त्री पदमा सपथ लिने भएका छन्। भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका र विधायक पनि नरहेका गोलेलाई मुख्यमन्त्रीमा सपथ गराउने आधिकारिक स्वीकृति राज्यपाल गंगा प्रसादले आइतबार साँझपख दिएका छन्।
सोमबार गोलेले गान्तोकको पाल्जर रंगशालामा मुख्यमन्त्रीको शपथ लिनेछन्, जुन समारोह पवन चाम्लिङ नेतृत्वको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टले भने बहिस्कार गर्ने घोषणा गरेको छ।
यसअघि राज भवनमा हुँदै आएको सपथ ग्रहण समारोह यसपाली पाल्जर रंगशालामा आयोजना गर्न लागिएको हो। शपथ ग्रहण कार्यक्रम बिहान १० बजे सुरु हुनेछ।
भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएका गोले कानुनी अड़चनका कारण चुनाउ लड्न पाएनन्। यसैले उनी निर्वाचित विधायक होइनन्। नियम अनुसार मुख्यमन्त्री कायम रहन उनले आगामी ६ महिनाभित्र विधायकमा निर्वाचित हुनपर्नेछ।
आगामी ६ महिनाभित्र सिक्किमका तीन वटा सिटमा उपनिर्वाचन हुनेछ। एसडीएफका पवन चाम्लिङ र डीटी लेप्चा तथा एसकेएमका कुङ्गा निमा लेप्चाले आफुले जितेका दुई दुई सिटमध्ये एउटाबाट राजिनामा दिएपछि त्यहाँ उपचुनाव हुनेछ।
गान्तोक, स्यारी र रुम्तेक मार्तम भोटिया–लेप्चा समुदायका लागि आरक्षित सिट भएकाले गोलेले सम्भवतः चाम्लिङले छोड्न सक्ने पोकलोक–कामराङ क्षेत्रबाट प्रतिस्पर्धा गर्नेछन्।
२५ वर्षपछि सिक्किमको सत्ताबाट बाहिरिएको चाम्लिङको पार्टी एसडीएफले एसकेएम सरकारको शपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ। एसडीएफले तीनवटा कारणले बहिस्कार गर्न लागेको जनाएको छ।
एसडीएफका प्रवक्ता भीम दाहालले प्रेस विज्ञप्तिमा एसडीएफले जनप्रतिनिधित्व एनको प्रावधान तथा आशय र सर्वोच्च न्यायालयको निर्णय नजरअन्दाज गरेको आरोप लगाएका छन्।
दाहालले एसकेएम अध्यक्ष गोले भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएर कारावासको सजायमुक्त भएको एक वर्ष नपुग्दै मुख्यमन्त्री पदमा शपथ गराइनु आश्चर्यजनक र दुर्भाग्यपूर्ण हुने बताएका छन् @ नेपालखबर |
गोलेको यस्तो छ तयारी (भिडियो)