घट्टेकुलो र सुकेधारामा विप्लवको विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । काठमाडौंको घट्टेकुलो र सुकेधारामा आज साँझ भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घट्टेकुरोमा २६ वर्षीय रबिन केसीको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।
मृतक केसी विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ ।
उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।
निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।