तामाङ भन्छन् ‘अधैर्यतामाथि जित सफलताको सूत्र हो’

अधैर्यतामाथि जित सफलताको सूत्र हो
०७२ सालको राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट सम्मानित हुँदै गर्दा मलाई लागेको थियो– जटिल अवस्थामा धैर्य टुटाउन नहुने रहेछ । धैर्य हुन सके मात्रै सफल भइँदो रहेछ । धैर्य, आत्मविश्वास र परिवारको सहयोगले मात्रै सफल उद्यमी बन्न सकिन्छ । राज्यले गरेको सम्मानले मलाई आज सफल उद्यमीको पहिचान दिएको छ ।
०६८ मा काठमाडौंको मच्छेगाउँमा मसहित चार युवा मिलेर ब्रोइलर कुखुरा फार्म सुरु ग-यौँ । तीन सिजनमा सात हजार पाँच सय कुखुरा पाल्यौँ । तर, एक वर्षमा सात लाख लगानी व्यर्थ भयो । बजारमा बिचौलियाको सिन्डिकेट, महँगो दाना, महँगो औषधि र खर्चिलो ढुवानीले असफल भएँ । प्रतिकुखराको लागत एक सय ४० रुपैयाँसम्म हुन्थ्यो, तर व्यापारीले एक सय पन्ध्र रुपैयाँमा खरिद गर्थे । बजार व्यवस्थापन गर्न नजान्दा हामी असफल भयौँ ।
०६९मा म काठमाडौंबाट गाउँ (थाहा नगरपालिका आग्रा कैलाश) फर्कें र १० लाख लागतमा २४ बंगुर र केही कुखुरासहित फार्म सुरु गरेँ । एक वर्षमा २० लाख खर्च गरेँ । तर, आम्दानी शून्य भयो । २० वटा बंगुर विषादी सेवनले मरे । कसले विष प्रयोग गरिदियो, अहिलेसम्म थाहा छैन । पोस्टमार्टम रिपोर्टबाट विष सेवनबाट बंगुर मरेको थाहा भयो ।
कुखुराको पनि उचित बजारमूल्य नपाउँदा घाटा भयो । त्यसवेलासम्म कुखुरा र बंगुर फार्ममा मेरो २५ लाख लगानी डुबेको थियो । अहिले लाग्छ, बंगुर मर्नमा कसैको दोष छैन, दानापानीको सुरक्षा गर्न नजान्दा दुर्घटना भयो । म पटक–पटक असफल भएको मान्छे हुँ । कुनै वेला होटेलको खाना खाएको पैसा तिर्न नसकी बाइक धितो राख्ने अवस्थामा पुगेको थिएँ । कैयौँ दिन भोकै हिँडेँ ।
कैयौँ दिन बाइकमा पेट्रोल भर्न नसक्दा पाँच किलोमिटरसम्म बाइक डोहो-याएर हिँडे । ती दिनमा मैले सफल व्यक्तिहरूको इतिहास पढेँ । त्यसले मलाई ऊर्जा दियो । ऋण तिर्न नसक्दा मान्छेहरू घरमा झुन्डिएर मर्छुसम्म भन्थे । त्यसैले मैले हेटौँडाको सम्पत्ति बेचेँ । तर, मैले हिम्मत हारिनँ, धैर्य गरेँ । एक दिन अवश्य सफल हुन्छु भन्ने विश्वासमा अगाडि बढँे । आज मेरो फार्मको पुँजी दुई करोड छ । समस्या कहिल्यै समाधान हुँदैनन्, केवल केही समय टर्छन्, त्यसैले धैर्य नै सफलताको सूत्र हो ।
०६३ सालमा चार महिना होटेल तालिम गरी -याडिसन होटेलमा वेटरको जागिर गरेँ । तिनताका मेरो तलब नौ हजार थियो । त्यतिवेला मेरो तलब राम्रै मानिन्थ्यो । करिब डेढ वर्षपछि मैले याक एन्ड यतीमा तीन वर्ष काम गरेँ । ती होटेलमा काम गर्दा कर्मचारीमाथि हुने अन्याय, शोषण र कामको तनावले म असन्तुष्ट भएँ । त्यसकारण होटेलको जागिर चटक्कै छोडेर गाउँमा गए । गाउँमा म र भाइ बिहान पाँच बजेदेखि कृषिकर्म गथ्र्यौं । आफन्त र छिमेकीले हामीलाई पागल भन्थे । ०७० मंसिर १४ बाट थाहा नगरपालिकास्थित कैलाश गाउँमा दाजुभाइले कैलाश गोट फार्म एन्ड रिसर्च सेन्टर र सुनगाभा कृषि फार्म सुरु ग-यौँ ।
५० रोपनीमा कृषि गर्न काकाले ४० हजार सहयोग गरे । सरकारको अनुदानको १० लाख र अन्य पुँजी व्यवस्थापन गरी १६ लाखमा कृषि फार्म वैधानिक रूपमा सञ्चालन गरेँ । तर, सरकारी अनुदान पाउन करिब ३५ प्रतिशत कर्मचारीले कमिसन लिए । घरमै भएका केही बाख्रा, खरिद गरिएका तरकारीका बिउबिजन र मिटमार्टबाट कृषि र व्यवसाय सुरु भयो । हामी अहिले बिचौलियाको खर्च कटाएर प्रतिवर्ष २० लाखभन्दा बढी आम्दानी गर्छौं । २० लाखमध्ये घर खर्चबाहेक कृषि फार्ममै लगानी गरेका छौँ । कृषि व्यावसायिक र परिष्कृत गर्न लगानी महत्वपूर्ण हो । त्यसैले मैले लगानीमा जोड दिएको छु ।
०७१ सालमा ३० रोपनी जग्गामा तीन सय ५० बोट किबी रोपी किबीको नर्सरी सुरु गरेँ । किबीको नर्सरी सुरु गर्दा मैलो तीन लाख ५० हजार लगानी गरेको थिएँ । अहिलेसम्म प्रतिक्विन्टल २५ हजारको दरमा पाँच क्विन्टल किबी बिक्री भएको छ । केही वर्षमा व्यवसाय बिक्री–वितरण गर्ने लक्ष्य छ । नेपालको मध्य र उच्चपहाडमा किबीको अथाह सम्भावना रहेकाले किबी खेती सुरु गरेको हुँ ।
नेपालमा अहिले प्रतिकेजी २५० देखि ६५० रुपैयाँसम्ममा किबी बिक्री हुन्छ । अहिले चीन, भारत, अस्ट्रेलिया, न्युजिल्यान्डबाट किबी आयात भइरहेको छ । आउँदो कात्तिकबाट फार्ममा होम स्टे र फार्म स्टे बनाउँछौँ । यसले एग्रो टुरिजम सुरुवात हुन्छ । गाउँका परम्परा र संस्कृति झल्काउने संरचना बन्नेछन् । यसले त्यहाँ आउने पर्यटकले हाम्रो परम्परागत संस्कृतिको जानकारी पाउनेछन् ।
नेपालको प्रत्येक गाउँमा होम स्टे प्रवद्र्धन गर्न सकिन्छ । फार्मसँगै युथ गार्डेन, आइटी पार्क बनाउन पर्यटन बोर्डको न्यूनतम बजेटमा काम सुरु भएको छ । यसरी एग्रो टुरिजमको माध्यमबाट युवा स्वरोजगार हुन्छन् र स्थानीय वैदेशिक रोजगारीका लागि बिदेसिने बाध्यता हट्नेछ । विषय र कार्ययोजना स्पष्ट भए सफल भइन्छ । म सफल हुन सक्छु भने अरू सफल हुन किन नसक्ने ? नयाँ पत्रिकामा उनले भनेका छन् |
त्यसैले कृषि कर्ममा लाग्ने युवालाई अनुदान होइन, सहुलियत ऋण दिनुपर्छ । त्यसमा युवाको अपनत्व हुन्छ । विश्व बैंकले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न अर्बौंको कार्यक्रम गर्छ । तर, परिणाम खोइ ? यी कार्यक्रम अनुदान वितरण गर्ने मोडालिटीका छन् । अनुदानले देश बन्दैन । देश बनाउन अनुदान कार्यक्रम बन्द गर्नुपर्छ । यस्ता अनुदानका कार्यक्रम नेतृत्वमा रहेकाको अनुकूलतामा प्रयोग हुन्छन् ।
कृषि क्षेत्रमा युवालाई प्रोत्साहित गर्ने नीतिमा समस्या छ । नीति बनाउन गएका व्यक्ति विषयविज्ञ छैनन् । युवा क्षेत्रलाई प्रोत्साहन गर्न बनाइएका नीति पनि कार्यान्वयन गर्ने निकाय उदासीन छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर वार्षिक ३.३ प्रतिशत ब्याजमा १० लाखसम्म ऋण दिने कार्यक्रम आएको छ । तर, राज्यले युवालाई कृषि उद्यमशीलतामा प्रोत्साहन गर्न नीतिगत र व्यावहारिक समस्या समाधानमा पहल गर्न आवश्यक छ ।