ईनारमा खसेका तामाङको ५ दिनपछि सेनाद्वारा जिवितै उद्दार

सर्लाही । जिल्लाको हरिवन नगरपालिका ५ घुर्काैली स्थित पानी नभएको ईनारमा खसेका एक सर्वसाधारणको सोमबार जिवितै उद्दार गरिएको छ ।
हरिवन नगरपालिका ५ निवासी ५५ वर्षीय सानुमान जिम्बा तामाङलाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले उनलाई सकुशल निकालेको हो ।
गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए । १३ वर्षीय बालक बिवस पाख्रीनले ईनारमा जिम्बालाई देखेपछि डराउँदै “भुत भुत“ भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।
उनलाई देख्नेवितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानी सहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताएको राजधानीमा समाचार छ । ५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए । वडाअध्यक्ष साहले जिम्बालाई उपचारका लागि तत्काल नमुना अस्पताल हरिवन पठाएका छन् । जिम्बाका श्रीमतिसहित परिवारका सदस्यहरु भने खोज्दै आफन्तकोमा पुगेको समाजसेवी सुरेन्द्र लामाले बताए ।