खुल्लामञ्चमा कमाउ धन्दा चलाएका भेटवालको टहरामा महानगरको डोजर

काठमाडौं । खुल्लामञ्चलाई निजी जग्गा जस्तै गराएर कमाउ धन्दा चलाएका मनोज भेटवालले बनाएका टहरामा काठमाडौ महानगरपालिकाले शनिबार डोजर चलाएको छ । जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए ।
भेटवालले महानगरपालिकासँग भएको सम्झौतामा किर्ते गरी टहरा बनाएको समेत पाइएको छ । महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ, भने अर्कोेमा त्यसरी संरचना बनाउन नपाइने भनिएको छ ।
सहमति पत्रको नवौं बुँदामा काठमाडौं महानगरपालिकाले मिति ०७३ वैशाख १३ मा स्विकृत गरेको नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने, भनिएको छ भने महानगरपालिकासँग भएको अर्को सहमति पत्रमा पाइने छ’ लाई केरेमेट गरेर छैन’ भन्ने थपिएको छ । हातले केरेर ‘छैन’ लेखिएको ठाउँमा हस्ताक्षर पनि छैन ।
महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा प्रशासन विभागका विभागिय प्रमुख ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । ठेकेदारको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालको हस्ताक्षर छ । राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन् । यस्तै बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन् । कागजपत्रमा हस्ताक्षर गरेका ज्ञानेन्द्र कार्कीले भने आँफूले हस्ताक्षर नगरेको भन्दै राजश्व महाशाखा प्रमुख महेश काफ्लेलाई दोष लगाएका छन् ।
यता महेश काफ्लेले भने उक्त सम्झौतमा संरचना बनाउन नपाइने नै लेखिएको तर कुनै प्राविधिक कारण बनाउन पाइने भएको हुन सक्ने तर्क गर्छन् । खुल्लामञ्चका टहरा हटाउने बिषयमा भने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभाव खड्गीबीच आरोप प्रत्यारोप चलेको छ ।
मेयर शाक्यले उपमेयर खड्काले अनुगमन नगरेको र निर्णय नदिएको बताउँदै आएका छन् उपमेयर खड्गीले मेयर शाक्यलाई पटक–पटक लिखित मौखिक जानकारी गराएको बताउँदै आएकी छिन् ।
महानगरले खुल्लामञ्च संरक्षणका लागि टहरा भत्काएसँगै चर्को मूल्य भेटवाललाई बुझाएर व्यापार सुरु गरेका पसलेहरुको करोडौ रुपैयाँ भने जोखिममा परेको छ । महानगरले एक साता अघिनै सामान हटाउन आदेश दिएपनि सामान हटाएका थिएनन् ।
शनिबार टहरा भत्काएपछि भने उनीहरु आत्रोशित थिए । संचरना बनेर भाडामा लगाउँदासम्म महानगर मौन बस्दा भेटवालले आँफूहरुसँग विना रसीद लाखाँै पैसा उठाएको उनीहरुको गुनासो छ । खुल्लामञ्च संरक्षणका लागि महानगरले सहि कदम उठाएसँगै भेटवाललाई लाखौं बुझाएर ठगीएका व्यवसायीको पक्षमा समेत कदम उठाउन माग गरेका छन् ।