ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ

याम्बु – उपत्यकामा गुड्ने ट्याक्सी चढ्न परे अब ‘ए ट्याक्सी’ भनेर बोलाइरहनै नपर्ने भएको छ । ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ग्राहकका लागि मोबाइल एप्स तयार पारेको छ ।
स्वरोजगार ट्याक्सी चालक समाजले यात्रुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा सुरु गर्ने भएको छ ।
समाजले ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्समार्फत वैशाख दोस्रो सातादेखि परीक्षणका रूपमा एप्स प्रयोगमा ल्याउँदै छ ।उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यमै एप्समार्फत सेवा दिने तयारी गरेको छ ।
हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने इजी ट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि कस्टमर लग इन रजिस्टर बनाइएको छ भने यात्रुले लग इन गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्छ ।
यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत अनुरोध स्विकार्छन् । र, त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमै गएर सेवा दिनेछन् ।
इजी ट्याक्सी नेपाल एप्समार्फत यात्रुले लग इन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्नेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानुपुर्वा छानेका अनुसार यात्रुको सुविधाका लागि प्रविधिमैत्री ट्याक्सी सेवा सञ्चालन गर्न लागिएको हो ।
हालका लागि यात्रुले सो एप्समा लग इन गरेर यात्रा गर्दा नगदमै भुक्तानी गर्न सक्नेछन् भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा हुनेछ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मक रूपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिका आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ)ले काठमाडौंको ट्याक्सी सेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स सञ्चालन गरेको बताएको शिला पत्रमा समाचार छ |
इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालक दर्ता हुनेछन् भने यात्रुले दिउँसो र राति दुवै सिफ्टमा सेवा प्राप्त गर्नेछन् ।
एप्समा आबद्ध भएका चालक र एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँको बिमासमेत गरिएको छ ।