जसले माओलाई भनेका थिए- साम्यवाद र बुद्ध दर्शन उस्तै हो

राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने चिनियाँ कम्युनिष्ट नेता माओ त्सेतुङको विचार र संसारभरि अहिंसा र शान्ति फैलाउने बुद्ध दर्शन समान हुन् भन्दा अचम्म लाग्न सक्छ।
तर नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरले यी दुबै विचारधारामा आधारभूत समानता देखे। त्यसैअनुसार आफ्ना प्रवचन दिए। माओबाट प्रभावित ‘क्रान्तिकारी’ अश्वघोषले राणा शासनका बेला बुद्ध धर्मावलम्बीलाई देश निकालाको प्रतिरोध गरे। तिनै प्रगतिशील भिक्षु अश्वघोषको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अश्वघोषको निधनबाट राष्ट्रले एक वरिष्ठ साधक र विद्वानलाई गुमाएको बताएका छन्।
सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विशेष राष्ट्रिय सम्मानका साथ अश्वघोषको अन्त्येष्टी गर्ने निर्णय गरेको छ।
काठमाडौंमा जन्मेका बुद्धरत्न शाक्यले ८ वर्षदेखि नै भिक्षु जीवन सुरू गरे। भिक्षु बन्दा उनले अश्वघोष नाम राखे। भिक्षु बनेपछि उनी बौद्ध दर्शनसम्बन्धी उच्च शिक्षाका लागि उनी श्रीलंका पुगे। पाँच वर्षपछि पूर्ण भिक्षु बनेर स्वदेश फर्किए। त्यसपछि अध्ययनका लागि चीन गए।
चीनका माओ त्सेतुङबाट प्रभावित अश्वघोष प्रगतिशिल भिक्षु थिए।
उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओसँगको भेटमा साम्यवादको लक्ष्य र बौद्ध दर्शनको लक्ष्य समान रहेको बताएका थिए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले अश्वघोष माओ त्सेतुङबाट प्रभावित रहेको बताए। ‘माओ त्सेतुङले कम्युनिष्टले साम्यवाद अन्तिम लक्ष्य भुनुहुन्थो,’ मैतेयले भने, ‘गुरु अश्वघोषले भेटमा बौद्ध दर्शनको व्याख्या गर्नुभयो। उहाँले बौद्ध दर्शनअनुसार पहिलो चरणमा व्यक्तिले ज्ञान प्राप्त गर्नु पर्ने र प्रवुद्ध बन्नु पर्ने उल्लेख गर्नुभयो। कम्युनिष्टले जस्तै भगवान् पुजा बौद्ध दर्शनमा नहुने बताउनुभयो।
अश्वघोषले माओलाई दोश्रो चरणमा ‘धर्म धारणा’ अर्थात् सत्यमा आधारित समाज निर्माण र तेश्रो चरण अर्थात् गण संघ नै सबभन्दा ठूलो हो भनेर ब्याख्या गरेका थिए।
भिक्षु मैतेयका अनुसार अश्वघोषले माओत्सेतुङलाई बौद्ध दर्शनले पनि निजीभन्दा सामूहिक सम्पत्तिमा जोड दिएको व्याख्या गरेका थिए।
‘गुम्बा बिहार व्यक्तिगत होइनन्, संघका सम्पत्ति हुन् भन्ने मान्यता उहाँको थियो,’ मैतेयले भने,‘उहाँले बौद्ध दर्शन साम्यवादसँग मिल्ने विचार राख्हुन्थ्यो। उहाँको लेखहरूमा ती विषय झल्कन्छन्।’
अश्वघोष सांसद बन्ने पहिलो भिक्षुसमेत हुन्। उनी २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभा सदस्य भएका थिए।
उनलाई २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो। झण्डै डेढ सय पुस्तकका लेखेका अश्वघोष ‘सर्वोच्च भिक्षु’का रूपमा सम्मानित छन्।
‘म बालक नै थिएँ। उहाँ हामीलाई पढाउन बेला बेला आनन्दकुटी बिहारमा आउनुहुन्थ्यो,’ उपाध्यक्ष मैतेयले भने, ‘उहाँ प्रबुद्ध र अभिमान नदेखाउने गुरु हुनुहुन्थ्यो।’
भिक्षु अश्वघोषले भिक्षुणीहरुको संघ खोल्न समेत उत्पेरणा दिएका थिए।
‘अनागरिक नामको भिक्षुणी संघ छ,’ मैतेयले भने, ‘उहाँले त्यो मुभमेन्टमा सहयोग गर्ने र प्रवचन दिने काम गर्नुभयो। उहाँ महिलाहरूलाई पढ्न प्रोत्साहन गर्ने काम गर्नुहुन्थो।’
भिक्षु अश्वघोषको निधनले बौद्ध दर्शनमा नपुरिने खाडल बनेको मैतेयले बताए @ सेतोपाटि