इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध

जेरुसेलम । इजरायलको सर्वोच्च अदालतले यहुदी शक्ति पार्टीका कट्टरपन्थी नेता बेन आरीलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न रोक लगाएको छ ।
यो सँगै अब उनले आगामी महिना हुने निर्वाचनमा भाग लिन पाउने छैनन् । आफ्नो फैसलामा सर्वोच्चले निर्वाचन समितिको निर्णय पनि उल्टाइदिएको छ ।
इजरायलमा बसिरहेका अरब मूलका नागरिकका बारेमा गरेका टिप्पणीका कारण उनको आलोचना भइरहेको छ ।इजरायलका महान्यायधीवक्ता जनरल अभिचाई मेडेलब्लिटले उनको टिप्पणी नस्लवादबाट प्रेरित रहेको बताएका छन् । अदालतले इजरायलको अरब पार्टीलाई पनि चुनाव लड्न अनुमति दिएको छ ।
इजरायलमा ९ अप्रिलमा चुनाव हुदैछ । अरब पार्टीमाथि इजरायल र इजरायली सैन्य बलविरुद्ध गरेको आलोचनात्मक टिप्पणीका कारण चुनाव लड्न रोक लगाइएको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चुनावभन्दा पहिले केही कट्टरपन्थी विचारधाराका पार्टीसँग गठबन्धन गरेका छन् । नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा छानविन भइरहेको छ । यद्यपि यो निर्वाचनमा पनि उनको लिकुड पार्टीको दाबेदारी बलियो मानिएको छ ।
इजरायलमा गठबन्धन सरकार बन्ने गरेको छ । किनकि आनुपातिक प्रतिनिधित्वको व्यवस्थाअनुसार कुनै पार्टीले एक्लै सरकार बनाउन सक्दैन ।
वामपन्थी नेताले अदालतमा दायर गरेको आफ्नो अपिलमा बेन आरीले नस्लवादी बयान दिएको बताएका थिए । द टाइम्स अफ इजरायल बेवसाइटका अनुसार निवेदनमा उनले अगस्ट २०१८ को एक भनाईको जिकिर गरिएको थियो ।
जसमा आरीले भनेका थिए, ‘हामीले कुनै यहुदीविरुद्ध बोल्ने हिम्मत गर्नेसँग समीकरण बदल्नुपर्छ । यस्ता व्यक्ति मृत्यु भइसकेका व्यक्ति हुन् । उनीहरु जिउँदो रहनु हुँदैन । उसलाई देश निकाला गर्ने वा नागरिकता लिने होइन, जिउँदो नै रहन हुन्न । अरब यही भाषा बुझ्छ ।’
पछि उनले यसबारेमा स्पष्टिकरण दिँदै आफ्नो भनाई हमासप्रति लक्षित रहेको बताएका थिए ।
एजेन्सी