काठमाण्डौ उपत्यका तामाङ ह्योन्जनहरुको भेला सम्पन्न

काठमाण्डौ – ह्योन्जन वंश प्रतिष्ठानले आयोजना गरेको काठमाण्डौ उपत्यका ह्योन्जन भेला २३ सदस्यीय उपत्यका ह्योन्जन वंश प्रतिष्ठान समन्वय समिति गठन गरि भव्यपुर्वक नयाँ बस्ति जोरपाटी, काठमाण्डौमा सम्पन्न भएको छ |
उक्त कार्यक्रमको सभापतित्व काठमाण्डौ उपत्यका ह्योन्जन भेला आयोजक समितिको संयोजक एवं प्रदेश नं.३ ह्योन्जन वंश प्रतिष्ठानका संयोजक पुन्य बज्र ह्योन्जन तामाङले गर्नु भएको थियो । कार्यक्रमको संचालन ह्योन्जन वंश प्रतिष्ठानको सदस्य सचिव अधिवक्ता डा. कुन्साङ ह्योन्जन तामाङले गर्नु भएको थियो भने स्वागत मन्तव्य ह्योन्जन वंश प्रतिष्ठानका अनुसन्धानका समितिको सदस्य जिवन ह्योन्जन तामाङले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ह्योन्जन वंश प्रतिष्ठानको अनुसन्धान समितिका संयोजक कुमार ह्योन्जन तामाङले ह्योन्जन वंश प्रतिष्ठान गठन गर्नुको मुख्य कारण हाल सम्म प्रतिष्ठानले गरेको कामहरुको चर्चा, उदेश्य र भावि कार्य योजनाको बारेमा प्रकाश गर्नु भएको थियो। उहाँको अनुसार वंश प्रतिष्ठान विश्व भरि छरेर रहेका ह्योन्जन तामाङ वशंजहरुको बारेमा खोज अनुसन्धान गर्ने र ह्योन्जन तामाङको वंशवली निर्माण गर्ने मुख्य उदेश्य लिएर गठन भएको हो । साथै ह्योन्जन वंश प्रतिष्ठान गठन कुनै तामाङ जाति र थरहरुको, बिचमा फाटो ल्याउनु र गुडबन्दी गर्नु कदापि गठन गरिएको होईन त्यसता खालको नकारात्मक भ्रमहरुमा नपर्नु हुन सम्पुर्ण तामाङ समुदयहरुलाई अनुरोध समेत गर्नु भयो ।
हाल सम्म प्रदेश नं. ३ को काभ्रे, सिन्धुपाल्चोक, चितवन, सिन्धुली र दोल्खा जिल्लाहरुमा र प्रदेश नं.१ को मोरङ, सुनसरी, झापा,तेह्रथुम र धनकुटा लगायत जिल्लाहरुमा ह्योन्जन वंश प्रतिष्ठान जिल्ला समन्वय समिति गठन गरि सकेको बाँकि रहेको जिल्लाहरुमा छिट्टै समन्वय समिति गठन गर्ने बताएको छ |
प्रतिष्ठानका आर्थिक समितिको संयोजक देव राज ह्योन्जन तामाङले प्रतिष्ठानको हाल सम्मको आर्थिक स्थितीबारे भेलालाई जानकारी दिदै ह्योन्जन तामाङ वंशको वंशवली निर्माण र खोज, अनुसन्धान गर्न धेरै खर्चको आवश्क पर्ने हुदाँ सबै ह्योन्जनहरुलाई एक जुट भएर प्रतिष्ठानलाई आर्थिक सहयोग गर्नु हुन आहावन गर्नु भयो । साथै उहाँले प्रतिष्ठानको केन्द्रिय संयोजन समितिको निर्णय अनुसार तोकेको शुल्क तिर्नु भई यस प्रतिष्ठानको सदस्यता लिनुको लागि समेत सम्पुर्ण ह्योन्जनहरुलाई अनुरोध गर्नु भयो । उहाँको अनुसार संरक्षक सदस्यहरुलाई रु. १,००,०००।–(एक लाख), सल्लहाकार सदस्यहरुलाई रु. ३०,०००।–(तिस हजार), संस्थापक सदस्यहरुलाई रु.२५,०००।– (पचिस हजार), आजिवन सदस्यहरुलाई रू. ५,०००।- हजार र सधारण सदस्यहरुलाई रु. १००।– (एक सय) तोकएको साथै रु. २५,०००।–(पचिस हजार) भन्दा माथि आर्थिक सहयोग दाताको नाम, ठेगना र फोटो यसै गरि रु. ५,०००।- आर्थिक सहयोग दाताको नाम ह्योन्जन वंशवली पुस्तकमा प्रकाशन गर्ने र प्रत्येक ह्योन्जन घरधुरीबाट न्यूनतम रु. १,०००।– (एक हजार) संकलन गर्ने सो बापत १ (एक) थान ह्योन्जन वंशवली पुस्तक (प्रकाशित भएपछि) उपलब्ध गर्ने जानकारी दिनु भयो ।
ह्योन्जन वंश प्रतिष्ठानको सल्लहाकार एंव भाषाविद अमृत ह्योन्जन तामाङले उपत्यका ह्योन्जन भेलालाई सम्बोधन गर्दै भन्नु भयो, हामी बिचमा योन्चन, ह्योन्जन कि योन्जन भन्ने अन्योल रहेको हामीहरु देख्न सकिन्छ, भाषा विज्ञानको नियमनुसार यस अन्योल र जिज्ञासालाई यसरी शान्त पार्न सकिन्छ भन्दै उहाँले भन्नु भयो जसरी बङगाली भाषाका ठाकुर शब्द ‘टैगोर’ र बन्धोपाध्याय शब्द ‘बेनर्जी’ भएका छन् । उदाहरणका लागि विश्वकवि रविन्द्रनाथ टैगोर र ममता बेनर्जीलाई लिन सकिन्छ। बंगालीहरू रविन्द्रनाथ ठाकुर र ममता बन्धोपाध्याय भन्छन्। गैर-बंगालीहरू (विशेष गरी अग्रेजहरु) ठाकुरलाई ‘टैगोर’ र बन्धोपाध्यायलाई ‘बेनर्जी’ भन्छन्। दुवै चलाउँछन्। हिन्दी भाषीका लागि Egypt मिश्र भए। नेपालीको लागि English (इङ्लिस) ‘अंङ्ग्रेजी’ भए। तमु नेपाली भाषीका लागि ‘गुरूङ’ र याक्थुङबा ‘लिम्बु’ भए। गत वर्ष पश्चिम बङ्गाल विधानसभाले राज्यको नाम पारित गर्यो- पश्चिम बङ्गाललाई अंग्रेजीमा ‘वेङगाल’, हिन्दीमा ‘बङ्गाल’ र बङ्गालीमा ‘बाङ्ला’ नाम राख्ने भनेर । यसर्थ तामाङ भाषामा लेख्दा ‘ह्योन्जन’ र नेपालीमा लेख्दा ‘योन्जन’ लेख्न सकिन्छ। ह्योन्जन वास्तवमा ‘य्होन्जन’ हो। ‘य’ वर्ण सघोष भएर ‘य्ह’ भएको हो- ङ वर्ण ङ्ह; म वर्ण म्ह; न वर्ण ‘न्ह’ र ल वर्ण ‘ल्ह’ भए जस्तै तर देवनागरीमा ‘य्ह’ लेख्न सकिन्न। प्रत्येक भाषाको आ-आफ्नै उच्चारण पद्धति हुन्छ । एउटा भाषीले अर्को भाषाको वर्णलाई हुबहु उच्चारण गर्न सकिदैनँ। फ्रान्स भाषाको ‘रेस्टुराँ’ शब्द नेपालीमा ‘रेस्टुरेन्ट’ भएको छ।अझ् भन्ने नै हो भने ‘योन्चन’ सही हो। ‘चन’को अर्थ लाग्छ। ‘जन’को तामाङ भाषामा अर्थ छैन। दुइ स्वर वर्णको विचमा आउने भ्वाइसलेस वर्णहरू- क च ट त प क्रमशः भ्वाइस्ड वर्ण- ग ज ड द ब मा परिवर्तन हुन्छ, जस्तै पाप्पा, सात्पा तर ‘खाबा’, ‘निबा’ हुन्छ। ‘खाबा’ वा ‘निबा’ शब्दमा ‘बा’को अगाडि र पछाडि ‘आ’ छ। यसै गरी नाके वर्ण (ङ न म) अगाडि आउँदा पनि ‘च’ वर्ण ‘ज’ हुन्छ। यसै नियमले गर्दा योन्चनको उच्चारण ‘योन्जन’ भएको हो। यसरी नै ‘चारताम’ पनि ‘चारदाम’ भयो। भाषामा मौलिकता खोज्नु पर्दछ। बङ्गालीहरूले जस्तै गरी तामाङ भाषामा लेख्दा वा बोल्दा ‘य्होन्जन’ र नेपालीमा लेख्दा वा बोल्दा ‘योन्जन’ लेख्न सकिन्छ। भनि योन्चन, ह्योन्जन कि योन्जन भन्ने बारे प्रष्ट पार्नु भएको थियो ।
अर्का वक्ता ह्योन्जन वंश प्रतिष्ठानको अनुसन्धान समितिका सदस्य एंव बौद्ध अधेयता मोहन कुमार ह्योन्जन ले वंशवली निमार्णकार्य सारै चुनौति पुर्ण रहेको र वंशवली निर्माण गर्दा फाराप, केराप, दोङराप, ठुङसा र भापसा जस्ता ह्योन्जन तामाङहरु संग सम्बन्धित रहेका ऐतिहासिक दस्तावेजहरुको अध्ययन र खोज गर्नु पर्ने कुरा बताउनु भयो र वंश बृक्ष निमार्ण गर्ने सिद्धान्त बारे उदाहरण सहित उहाँ प्रष्ट पार्नु भएको थियो ।
ह्योन्जन वंश प्रतिष्ठानको सल्लहाकार एंव वरिष्ठ राजनितिज्ञा सिताराम ह्योन्जन तामाङले भेलालाई सम्बोधन गर्दै वहाँले भन्नु भयो ईतिहासले हाम्रो पुस्ताको काँधमा ह्योन्जन वंशवली निर्माण गर्न ठुलो जिम्मेवारी सुम्पेको छ । यो जिम्मेवारी लाई हामीले कुनै पनि मुल्य चुकाएर पुरा गर्नु पर्ने बताउनु भयो । किन भने हिजो दिनहरुमा हाम्रो पुर्खाहरुले यि कुराहरु नगर्नले आज हामि बिचमा वंशवली बारेमा अन्योल आएको र अहिले हामीहरुले वंशवली निर्माण गरी आफ्नो वंश, स्वागे भाई र कुटुम्बेली कुन, कुन हुन भनि प्रष्ठ पार्न सकेन भने आगामी दिनहरुमा भावि पुस्ताहरुको बिचमा झन यसले विकारालरुप लिन सक्छ तसर्थ यो वंशवली निर्माण कार्य लाई हामी सम्पुर्ण ह्योन्जनहरुले तन, मन, धनले सहयोग गर्नु पर्ने बताउनु भयो र यो वंशवली निर्माण कार्य हामी सम्पुर्ण ह्योन्जनहरुको जिम्मेवारी हो भन्नु भयो ।
यसै गरि ह्योन्जन वंश प्रतिष्ठानको सल्लहाकार एंव संयुक्त राष्टृ संघ अदिवासी फोरमको पुर्व उपाध्यक्ष परशुराम ह्योन्जन तामाङले पनि भेलालाई सम्बोधन गर्नु भई वंशवली निमार्ण कार्य आफैमा जटिल बिषय रहेको र विगतमा उहाँ आफूले “तामाङ वंशवली” भन्ने पुस्तक लेख्दा आई परेका अप्ठ्यराहरु बारे आफ्नो अनुभवहरु भेलालाई सुनाउनु भएको थयो । बोन्बो, लाताबा, लामा र ताम्बाहरु संग ह्योन्जन वंशवली सम्बन्धि धेरै ऐतिहासक कुराको जानकारी रहेको हुदाँ उहाँहरु संग समन्वय गरि ह्योन्जनहरुको पुर्खावली थलो र वंशको खोजि गर्नु पर्ने बताउनु भयो ।
ह्योन्जन वंश प्रतिष्ठानको अर्का सल्लहाकार एंव समाजिक अभियान्त बिर बहादुर ह्योन्जन तामाङले पनि भेलामा अफ्नो मन्तव्य राख्नु भई वंशवली निर्माण कार्यमा आफूले सकेको सहयोग गर्ने वचन दिनु भयो । साथमा ह्योन्जन वंश प्रतिष्ठानको केन्द्रिय संयोजन समितिको संयोजक महेन्द्र जंग ह्योन्जनले भेला लाई सम्बोधन गर्नु हुदै भेलामा उपस्थिती जनाउनु भएकोमा सम्पुर्ण ह्योन्जनहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममको अन्तमा कार्यक्रमको सभापति काठमाण्डौ उपत्यका ह्योन्जन भेला आयोजक समितिको संयोजक एवं प्रदेश नं.३ ह्योन्जन वंश प्रतिष्ठानका संयोजक पुन्य बज्र ह्योन्जन तामाङले कार्यक्रम संचालनको क्रममा कुनै किसिमको कमी कमजोरीहरु भएमा आगामि दिनको कार्यक्रमहरु सच्याउदै त्यसता कुनै कमी कमजोरीहरु हुन नदिने प्रतिवद्धता जाहेर गर्नु हुदै भेलाको कार्यक्रमलाई समापन गर्नु भएको थियो ।
यस भेलामा कार्यक्रममा ह्योन्जन वंश प्रतिष्ठानको सल्लहाकार एंव जापानको लागि नेपालका पुर्व राजदुत डा गणेश ह्योन्जन तामाङ लगायत काठमान्डौ उपत्यकामा रहुने / बस्नु हुने ह्योन्जन समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रविधिक त्रुटिको कारणले गर्दा कार्यक्रम निर्धारित समय भन्दा १ घन्टा ढिलो संचालन भएको थियो भने कार्यक्रम स्थल समेत परिवर्नन गरिएको थियो ।
२६ फागुन २०७५