भारतीय पाइलटलाई भाेलि रिहा गर्दैछाैँ : पाकिस्तानी प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो कब्जामा रहेका भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने घोषणा गरेका छन् । बिहीबार पाकिस्तानको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले भने, ‘शान्ति कायम गर्नका लागि भए पनि हामी भारतीय सेनाका पाइलटलाई फिर्ता पठाउन तयार छौँ ।’
हामीले भारतलाई चिठी लेखेका थियौँ कि विदेश मन्त्रीस्तरीय भेटलाई सुनिश्चित गरौँ । तर, कुनै जवाफ आएन उनले भने, ‘यसको जवाफ आएन, सायद चुनावले सम्भव भएन होला । हामी चाहन्छौँ, उनीहरुको चुनावमा यसको कुनै सम्बन्ध नरहोस् ।’
यसअघि पाकिस्तानी प्रधानमन्त्री खानले वार्ताबाट समाधान खोज्न आग्रह गरेको दोस्रो दिन भारतीय पक्षले बिनासर्त आफ्नो पाइलट फिर्ता गर्नु पर्ने धारणा सार्वजनिक गरेको थियो । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतले आफ्नो वायुसेनाका पाइलटलाई तुरुन्त फिर्ता गर्नु पर्ने र त्यसका लागि कुनै सम्झौता प्रश्न नरहेको धारणा राखेको छ ।
१४ फेब्रुअरी कस्मिरको पुलवामामा भएको आत्मघाती हमलामा ४२ भारतीय सैनिकको ज्यान गएपछि भारतले पाकिस्तानलाई दोष लगाउँदै आएकाे थियो । त्यसको करिब २ हप्तापछि भारतले फेब्रुअरी २६ मा जैस ए मोहम्मदको ट्रेनिङ क्याम्पमा भन्दै पाकिस्तानी क्षेत्रमा बम वर्षा गरेकाे थियाे । उक्ता हमलामा भारतले ‘लाइन अफ कन्ट्रोल’ क्रस गरेको भन्दै पाकिस्तानी पक्षले अन्तर्राष्ट्रिय मन्चमा उक्त विषय उठाउने र उचित समयमा त्यसको जवाफ फर्काउने प्रतिक्रिया जनाएको थियो ।
त्यसको भोलिपल्टै पाकिस्तानले आफ्नो क्षेत्रमा प्रवेश गरेका दुइ भारतीय वायुसेनाका विमान खसाल्यो । त्यसमध्येको एउटा विमानका पाइलटलाई कब्जामा लिएको भिडियो सार्वजनिक गरेकाे थियाे । त्यसपछि मत्थर भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महत्वपूर्ण विज्ञ र सुरक्षा अधिकारीसँगको बैठक बसेका थिए ।
यसअघि बुधबार पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारतलाई द्वन्द्व कम गर्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए । भारतीय समकक्षी नरेन्द्र माेदीलाई सम्बाेधन गर्दै उनले भनेका थिए, ‘यतिखेर भारत वा पाकिस्तानसँग के कति सैन्य क्षमता छ भन्ने कुराले कुनै अर्थ राख्दैन् । यदि, युद्धकाे अवस्था सिर्जना भयाे भने न त्याे माेदीले राेकेर राेकिन्छ, न मैले । त्यसले बर्बादी मात्रै निम्त्याउँछ ।’