पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो

काठमाडौं, फागुन ६ । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा विशेष पूजा गरिएको छ ।
सोमबार काठमाडौंको पाशुपत क्षेत्रमा भगवान बुद्धको मूर्तिसहितको विशेषरुपमा बनाइएको चैत्यलाई परिक्रमा गराइ ‘टकिं जात्रा’ मनाइएको हो ।
पाशुपत क्षेत्रको परिक्रमापछि विशेषरुपमा बनाइएको चैत्यलाई पशुपतिनाथको शिवलिंगमा विराजमान गराइ बुद्धकारुपमा पूजा गरिएको थियो ।
सो अवसरमा शिवलिंगको दक्षिणमूर्ति अघोरमा सर्वसाधारणका लागि छायाँ दर्शनसमेत गराइएको थियो ।
छायाँ दर्शनमा शिवलिंगको दक्षिणमूर्तिको भुइँमा पानी राखेर भगवान् बुद्धसहितको शिवलिंगको पानीमा छायाँ दर्शन गराइन्छ ।
धार्मिक सहिष्णुताको प्रतीक यो परम्परा नेपालमामात्र रहेको पाइन्छ । जात्रा मंगलबार सम्पन्न हुन्छ ।