राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा गरेको कान्तिपुर आइकन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् ।
मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्याएका चारजना अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरिएको हो।
जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान ‘विज्ञान–अन्वेषण’ तर्फ वागवानी विज्ञ मुकुन्द रञ्जित, ‘सिर्जना–कला’ तर्फ सुनील पोखरेल, अर्थ–उद्यम तर्फ कुलमान घिसिङ, समाज–राजनीति तर्फ हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरिएको हो।
हरेक विधामा अलग अलग स्वतन्त्र निर्णायक मण्डलले देशभरिबाट अनलाइन, हुलाक र इमेलमार्फत प्राप्त सयौँ मनोनयन/आवेदनहरूको अध्ययन/विश्लेषणपछि आइकन छनोट गरिएको हो। प्राप्त आवेदनहरूलाई विभिन्न मापदण्डबाट वैज्ञानिक विश्लेषण गरी कान्तिपुर आइकन छनोट गरिएको फाउन्डेसनले जनाएको छ।