काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू

नयाँदिल्ली : भारतको उत्तरी राज्य काश्मिरमा ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् ।
करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् । यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए । यो हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।
समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए । सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको काकापोराका बासिन्दा आदिल २०१८ मा जैसमा सामेल भएका थिए ।
एक भारतीय अधिकारीका अनुसार आतंकवादी हमलामा परेका सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने योजना थियो ।
एकसाथ २५४७ जवान लिएर हिँडेका गाडीसँगै सडक खुलाउने टोली र बख्तरबन्द आतंकरोधी गाडी पनि थिए । जुन बसमा आक्रमण भयो त्यसमा ७६औँ बटालियनका ३९ जना सवार थिए । मारिएका थप सुरक्षाकर्मीमा अर्को साधनका पनि थिए । घटनापछि डाक्टर र बम विशेषज्ञको टोली घटनास्थलमा पुगिसकेको छ ।
काश्मिर हमलापछि समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन
काठमाडौँः काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् ।
स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् ।
मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओलीले काश्मिरमा आज भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।
परराष्ट्रको विज्ञप्ति
यसैबीच परराष्ट्र मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति निकाल्दै काश्मिरमा भएको चरमपन्थी हमलाको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रले कुनै पनि किसिमको आतंकवादी गतिविधि नेपालका लागि सह्य नहुने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले काश्मिरमा भएको हमलामा मारिएकाहरू सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । परराष्ट्रले यो संकटको घडीमा नेपाल भारतको पक्षमा सदैव रहने पनि उल्लेख गरेको छ ।
कश्मीरमा ४० सुरक्षाकर्मी मारिएपछि पाकिस्तानसँग भारत क्रुद्ध
नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ ।
४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ ।
शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को भएको छ । यो बैठकमा छिमेकी मुलुक पाकिस्तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा फिर्ता लिएको हो ।
के हो मोस्ट फेवर्ड नेशन
एमएफएन अर्थात् मोस्ट फेवर्ड नेशनको दर्जा पाएका देशले भारतसँगको व्यापारमा विविध सुविधा पाउँछन् । यो सुविधाले पाकिस्तानलाई अधिक आयात कोटा र कम व्यापारिक कर मिल्ने गरेको छ। अर्कातिर मोस्ट फेवर्ड नेशनको दर्जा पाउने देशलाई व्यापारका क्रममा कुनै पनि किसिमको असर नपार्ने प्रतिवद्धता पनि भारतले गरेको हुन्छ ।
पुलवालामा भएको आक्रमणअघि सम्म पाकिस्तानले कुनै पनि हालतमा आफूलाई भारतले दिएको यो सुविधा खोसिएर आर्थिक सवालमा कुनै असर नपर्ने विश्वास लिएको थियो ।
मोस्ट फेवर्ड नेशन दर्जाबाट पाकिस्तानका व्यापारीलाई विविध सुविधा र कर छुट पनि मिल्छ । भारतले यो दर्जाबाट पाकिस्तानलाई हटाएपछि अब व्यापारमा असर पर्नेछ ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्यका रुपमा हरेक देशलाई एक दोस्रोबीच मोस्ट फेवर्ड नेशनको दर्जा दिइनु पर्छ । तर यो अनिवार्य भने हुँदैन । भारतले पाकिस्तानलाई सन् १९९६ मा मोस्ट फेवर्ड नेशनको दर्जा दिएको थियो । तर पाकिस्तानले आश्वासन दिएर पनि भारतलाई अहिलेसम्म यो दर्जा दिएको छैन । यसअघि भारतले जम्मु-कश्मीरको उरीमा आक्रमण भएपछि पहिलो पटक पाकिस्तानलाई दिइएको एमएफएन दर्जाबारे पुनर्विचार गरेको थिइो ।
कति छ ब्यापार
डिसेम्बर २०१८ मा विश्व बैंकको एक रिपोर्ट आएको थियो । यस रिपोर्टमा भारत र पाकिस्तानबीच २ अर्ब डलर (१४ हजार करोड भारु) को व्यापार हुने देखाएको थियो । रिपोर्टमा यी दुई देशको व्यापार ३७ अर्ब डलर (२.६२ लाख करोड भारु) सम्म बढ्ने अनुमान गरिएको थियो ।
के निर्यात गर्छ भारत
अहिले भारतले पाकिस्तानतर्फ प्रमुख रूपमा चिनी, चिया, ओयल केक, पेट्रोलियम तेल, कटन, टायर, रबरसमेत १४ वस्तु निर्यात गर्छ । भारतले पाकिस्तानबाट अम्बा, आँप, कटहर, फ्रेबिक कटन, साइक्लिक हाइड्रोकार्बन, पोर्टल्यान्ड सिमेन्ट, कपर वेस्ट र स्क्र्याप जस्ता सामान आयता गर्दै आएको छ ।
कास्मिर हमलामा भारतले जवाफी कारवाही गर्ने संकेत, जम्मुमा कर्फ्यू
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिरमा ४२ जनाको ज्यान जाने गरी भएको हमलाको भत्र्सना गर्दै हमलाकारीले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका छन् ।
साथै उनले उक्त हमलाको जवाफी कारवाही गर्ने संकेत देखाएका छन् । उनले आफूहरुले ‘कडा प्रतिवाद गर्ने’ भनेका थिए । ‘हामी यसको कडा जवाफ दिने छौँ,’ मोदीले भने, ‘जसले यो हमला गर्यो उसले ठूलो मुल्य चुकाउनुपर्ने छ । जसले सहायता गर्यो उसमाथि पक्कै कारवाही हुनेछ ।’
उनले छिमेकी मुलुक पाकिस्तानलाई लक्षित गर्दै उसले पनि गल्ती गरेको बताएका छन् । उनले भनेका छन्, ‘यदी हाम्रो छिमेकले यस्तो घटनाबाट भारतमा अस्थिरता ल्याएको सोच्छ भने त्यो उसको ठूलो गल्ती हो ।’
बिहीबारको हमला जैस ए मोहम्मद समुहले आफूले गरेको दावी गरेको छ । जहाँ ४२ जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । र भारतमा पछिल्लो दशककै सबैभन्दा ठूलो हमला पनि हो यो । पाकिस्तानले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अभिव्यक्ति दिएको छ ।
जम्मुमा कफ्र्यू
घटनापछि कास्मिरको जम्मु क्षेत्रमा कफ्र्यू लगाइएको छ । अहिले त्यहाँ हजारौँ नागरिकले पाकिस्तान विरोधी नारा लगाउँदै दर्जनौँ सवारीसाधनमा आगजनी गरेका छन् ।
यसै क्रममा यहाँ कफ्यू लगाइएको स्थानीय मिडियालाई उदृत गर्दै अलजजिराले जनाएको छ । एनडिटिभीका अनुसार प्रदर्शनको क्रममा कम्तिमा १२ जना घाइते भएका छन् । मुम्बइमा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले पाकिस्तानको तस्बिर जलाएका छन् ।