प्रचण्डले भने–प्रधानमन्त्रीकै सल्लाहमा ‘जनयुद्ध’ दिवस मनाइएको हो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भावनात्मक रूपमा एक भएको प्रतिक्रिया दिएका छन् । पहिलोपल्ट पूर्वएमाले पनि जनयुद्ध दिवससँग जोडिएर श्रद्धाञ्जली कार्यक्रममा सरिक भएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“जेठ ३ गते मदन– आश्रित स्मृति दिवसका दिन पार्टी एकता भयो । पहिलोपल्ट फागुन १ गते जनयुद्ध दिवस समारोहका रूपमा मनाऔँ । जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई सम्झना गरौँ । अगाडि बढ्ने सङ्कल्प गरौँ,” उनले भने, “यो वैचारिक राजनीतिक हिसाबले नयाँ चरणमा प्रवेश गर्दैछौँ भन्ने कुरालाई अभिव्यक्त त गरेकै छ । शान्तिपूर्ण र सशस्त्र संघर्षको अलग–अलग धारमा अघि बढेको राजनीतिक शक्तिबीच भावनात्मक एकतासमेत गरेको ।”
जनयुद्ध दिवसले पार्टीभित्रको एकतालाई सुदृढ गरेको र सांगठनिक, भावनात्मक र सांस्कृतिक एकतालाई बलियो तुल्याउने अवसर अवसर भएको उनको प्रष्टोक्ति थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर कार्यक्रम आयोजना गरेको र प्रधानमन्त्री अर्को कार्यक्रममा सरिक हुनुपरेकाले श्रद्धाञ्जलीमा आउन नसकेको उनको प्रष्टीकरण थियो ।
“कार्यक्रममा प्रधानमन्त्री आउने कुरा थियो । तर, सरकार गठन गभएको एक वर्ष पुग्यो । त्यसमा गर्नैपर्ने केही कामको चापले गर्दा प्रधानमन्त्री यहाँ नभए पनि यो निर्णय हामी दुवै जना अध्यक्षको सहमतिमा भएको हो । यसले हामीभित्र एकताको नयाँ आधार बनाएको छ ।”
पार्टी एकता ढिलो भइरहेको, जनसंगठनको एकता नभएको अवस्थामा एकता नै के हो केहो भन्ने चिन्ता प्रकट भएका बेला एकताको बलियो सन्देश गएको उनको अभिव्यक्ति थियो |