ईन्जाको एशिया च्याप्टरको महासचिवमा दिपेन्द्र दोङ तामाङ चयन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)को एशिया च्याप्टर गठन भएको छ । पत्रकार टंक पन्तको अध्यक्षतामा एशिया च्याप्टर गठन गरिएको हो । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुङ (कोरिया) रहनुभएको छ । समितिको महासचिवमा जनता टेलिभिजनका समाचार संयोजक दीपेन्द्र दोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।
महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारिताको बिकास तथा नेपालीभाषी पत्रकारहरुको हितमा काम गर्ने छन् । अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसारभरी रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा जोड दिंदै यसको लागि आवश्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।
ईन्जाको केन्द्रीय अध्यक्ष अमेरिका डिसी क्षेत्रमा स्थाई बसोबास गर्नु भएका पुराना पत्रकार गुणराज लुईटेल हुनुहुन्छ भने संस्थाको संरक्षकमा वरिष्ठ पत्रकारद्वय योगेश उपाध्याय र राम खरेल रहनु भएको छ । ईन्जाले अहिलेसम्म ४ वटा महादेशहरुमा समिति विस्तार गरिसकेको छ ।