कुलमानले प्राधिकरण सम्हालेयता विद्युत् चुहावट १० प्रतिशत घट्यो

२३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । उनले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आर्थिक वर्ष २०७३/७४मा घटाएर २२.९ मा झार्यौं, आर्थिक वर्ष ०७४/७५ मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं ।’
करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।
चालु आर्थिक वर्षमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको समाचार अनलाइन खबरमा छ |