तामाङहरुको चेतना स्तरमा वृद्धि

हिमाली बौद्धमार्गी एवंम् आदिवासी जनजातीहरुको महान राष्ट्रिय पर्व सोनाम ल्होछार तिथिअनुसार भोलि अर्थात माघ २२ गते परेको छ | देशविदेशमा ल्होछार केहि दिनअघि देखि नै आ-आफ्नो समय अनुकुल भव्य रुपमा मनाउन थालिसकेको छ | यो क्रम ग्याल्पो लोसार सम्म निरन्तर चलिरहन्छ र मनाउने गरिन्छ |
बिगतको बर्षहरु झैँ यसपाली सामाजिक संजालमा स-सानो कुरालाई लिएर तामाङहरुले अनावश्यक विवाद गरेको पाएको छैन | यो भन्नु नै तामाङ समुदायमा चेतनाको वृद्धि ह्वातै बढेको संकेत हो | तामाङ एकतामा थप टेवा पुग्नु हो |
काठमाडौंमा मनाउने सोनाम ल्होछारको कुरा गर्ने हो भने नेपाल तामाङ घेदुङको संयोजकत्वमा “राष्ट्रिय सोनाम ल्होछार -२८५५ तथा बृहत सांस्कृतिक उत्सव”एकै स्थलमा १०० भन्दा तामाङ संघसंस्था मिलेर टुडिखेलमा आज माघ २१ गते र भोलि २२ गते भव्यताको साथ मनाउने भएको छ |
बिगतमा एकै दिनमा काठमाडौं भित्रै बेग्लै स्थानमा ल्होछार मनाउदै आएका नेपाल तामाङ राष्ट्रिय घेदुङ यसपाली एकै थलोमा ल्होछार मनाउन सहमत भएको छ | यो दुईवटा घेदुङ एक हुनुपर्छ जनदवाब र एक हुनसक्छ भन्ने संकेत पनि हो | यो अवसरलाई दुवै घेदुङले संस्था एकता गर्नमा चुक्नु हुदैन | यो सिंगो तामाङ समुदायको हितमा छ | दुवै संस्थाले बुझेको कुरा पनि हो | यो संस्थागत रुपमा भएको चेतनाको बिकास हो |
साथै यसपाली अर्को एकदमै महत्पूर्ण पक्ष भनेको तामाङ बौद्ध महासंघले बिगतमा झैँ एकै दिन ल्होछार कार्यक्रम आयोजन नगरेर ग्राउण्ड खालि गरि दिएको छ | वहाँहरुले चाहेको भए कार्यक्रम गर्न असम्भव थिएन | यो पनि ढिलोचाँडो सम्पूर्ण तामाङ ल्होछारप्रेमी संघसंस्थाहरु र समुदायहरु एकै थलोमा आउनुपर्छ भन्ने संकेतको रुपमा बुझ्नु जरुरि छ | महासंघको निर्णयलाई नेपाल तामाङ घेदुङ लगायत सम्पूर्ण तामाङ समुदायले स्वागत एवं सम्मान गर्नुपर्छ |
यो पटक नेपाल तामाङ राष्ट्रिय घेदुङ र तामाङ बौद्ध महासंघले तामाङ समुदायलाई एकै स्थलमा ल्होछार मान्न भेला हुने अवसर प्रदान गर्नु भएकोमा वहाँहरुलाई सम्मान आभार प्रकट गर्दै भविष्यमा समन्वय , हालेमतो र कार्यगत एकताले स्थान पावोस भनेर सबैले कामना गर्नु उचित हुन्छ |
अन्तमा ल्होछारको पावन अवसरमा देश बिदेशमा आयोजित सम्पर्ण सांस्कृतिक कार्यक्रमहरु पूर्ण सफलताको कामना गर्दै तामाङ समुदायले मान्ने सबै भन्दा राष्ट्रिय महान पर्व सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्होको पावन अवसरमा बिश्वभरि फैलिएर बस्नु भएका सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |
बी बी लामा तामाङ
उपाध्यक्ष (युरोप)
अन्तराष्ट्रिय तामाङ परिषद्