तामाङ युवा घेदुङ कास्कीद्वारा सोनाम ल्होछारको अवसरमा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

पोखरा । नेपाल तामाङ युवा घेदुङ कास्कीद्वारा मन्जुश्री सम्वत् २८५५ औं सोनाम ल्होछार फाग-ल्होको उपलक्ष्यमा आयोजित अन्तर इकाई सेभेन ए साईट प्रतियोगितामा तामाङ बौद्ध सेवा समिति ए टिम प्रथम र बि टिम द्वितीय हुन सफल भएको छ | प्रथम हुने टिमले रु. ४४४४४/- नगद ,शिल्ड , प्रमाणपत्र र मेडल र यस्तैगरि द्वित्तिय हुने टिमले रु.२२२२२/- नगद , शिल्ड, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ तमुवान-मँगरात प्रदेशका अध्यक्ष दिपक वाईबाले सोनाम ल्होछारको दिन माघ २२ गते राष्ट्रीय विदा कायमगरि देशभर नै सार्वजनिक विदा दिनुपर्ने विचार पोख्नुभएको थियो ।गण्डकी प्रदेश सरकारलाई समेत सोनाम ल्होछारको विदाको लागि अनुरोध गर्नुभयो ।अब यो कुनै जाति बिशेषको मात्र पर्व मात्र रहेन सबै नेपालीको पर्व भएकोले सबैले धूमधाम मनाउनुपर्छ भन्नुभयो ।
अर्का वक्ता नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्ण बहादुर तामाङले सोनाम ल्होछारको अवसरमा कस्केली तामाङ समुदायले विभिन्न कार्यक्रम सन्चालन गरिरहेकोले सो कार्यक्रममा सहभागि हुन अनुरोध गर्नुभयो । नालामुख इकाई समितिद्वारा पोखरा प्रदर्शनी केन्द्र नयाँबजार पोखरामा माघ १८ गतेदेखि २६ गतेसम्म सन्चालित सोनाम ल्होछार महोत्सवमा सबैको साथ र सहभागिताको लागि अनुरोध भयो ।
कार्यक्रममा सेलो गायक सन्दिप ग्याबकले मिठा मिठा लोक सांगितिक कोशेलीहरु पस्कनुभएको थियो भने स्थानिय कलाकारहरु नृत्य प्रस्तुत गरेका थिए ।
युवा अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत उपाध्यक्ष बृजेश थिङ र सन्चालन सचिव कुमार थिङले गर्नुभएको थियो ।