बौद्धनाथ विकास समितिका नाममा केही व्यक्तिले आर्थिक चलखेल गरिरहेको आरोप

काठमाडौं, माघ १९ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले बौद्धनाथ क्षेत्र विकास समितिका नाममा केही व्यक्तिहरुले बौद्धस्तुपमा अनियमितता गरिरहेको आरोप लगाएको छ ।
घ्याङ गुठीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बौद्धनाथ विकास समितिका नाममा केही व्यक्तिले आर्थिक चलखेल गरिरहेको आरोप लगाएको हो ।
बौद्धस्तुप क्षेत्रमा परम्परादेखि पूजा गर्दै आएका चिनियाँ लामाका उत्तराधिकारीहरुलाई बौद्धस्तुपका गतिविधिहरुमा अधिकारविहीन गराउन खोजेको पनि गुठीले आरोप लगाएको छ ।
आर्थिक स्वार्थ बोकेका केही व्यक्तिले बत्ती बाल्दा पैसा उठाउने, शिलालेखहरुमा विदेशी लामाहरुको नाम लेख्ने र कोषको आम्दानीलाई खातामा जम्मा नगर्ने गरेको जिकिर पनि गुठीले गरेको समाचार इमेजखबरमा छ |