लुम्बिनीमा फोहोरै फोहोर

लुम्बिनी — शुक्रबार दिउँसो लुम्बिनीस्थित महाबोधी सोसाइटी इन्डियाको विहारनजिकै रहेको नहरमा मजदुरहरू भाँडा सफा गर्दै थिए । उनीहरूले खाएर बचेको जुठो नहरमा फाले र भाँडा सफा गरे । देश/विदेशबाट आउने बौद्ध धर्मावलम्बी नहरको पानी पवित्र मानेर लैजान्छन् ।
शुद्ध जल मानेर घरमा राख्छन्। पूजाआजामा प्रयोग गर्छन्। ‘हामी भने जानेर/नजानेर त्यही पानी फोहोर बनाइरहेका छौं,’ एक स्थानीयले भने।
अहिले बुद्धस्थल लम्बिनीमा फोहोर बढेको छ। जताततै फोहोरै फोहोर देखिन्छ। बाटो, नहर, मन्दिर, विहारका अघिपछि असरल्लै फोहोर फाल्ने गरिएको छ। फोहोरको डुंगुरले दुर्गन्ध बढेको छ। प्रदूषण उस्तै थपिएको छ। यहाँ आउने पर्यटक नाक थुनेर हिंडनुपर्ने अवस्था छ। ‘बाटो हिंडदा नेपालीले टाउको निहुर्याएर हिंडनुपर्ने अवस्था छ,’ लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘विदेशीहरूले नराम्रो मानिरहेका छन्।’
नेपाल घुम्न आउने पर्यटक अधिकांश लुम्बिनी आउँछन्। विश्व सम्पदामा सूचीकृत ठाउँको सरसफाइको अवस्था देख्दै उनीहरूले यहाँको मनस्थिति र विकास अवस्था बुझ्छन्। ‘यस्तो देखेपछि नेपालप्रति कसरी उनीहरूको धारणा सकारात्मक होस्,’ उनले भने, ‘लुम्बिनीको फोहोरले मुलुककै छवि धूमिल पारेको छ।’
अखण्ड शान्ति द्वीपदेखि दक्षिण बेबी बुद्धसम्म पूर्व–पश्चिम ३/३ सय मिटर रहेका नहरमा लेउ जमेको छ। नहरमा फालिएका पानीका बोतल, प्लास्टिकका झोलाले यसको सुन्दरता कुरूप बनेको छ। मायादेवी मन्दिर जाने मुख्य मार्ग वारिपारि रहेको उक्त नहर निकै फोहोर छ। पर्यटक नाक खुम्च्याउँदै हिंडछन्।
लुम्बिनी विकास गुरुयोजनाभित्रको पश्चिमी क्षेत्रमा बनेका विहारवरिपरि पनि जताततै फोहोर फालिएको छ। नेपालको बज्रयाना विहार उत्तर र सिंगापुरको विहारदेखि पूर्व फोहोरको थुप्रो बाटोमै छ। बज्रयाना विहारदेखि चिनियाँ विहारसम्म बाटोका दुवैपट्टि चाउचाउ, कुरकुरे, कुरमुरे र प्लास्टिकका झोला फालिएका छन्। मन्दिर र विहार आसपास चटपटे बेचिन्छ। विहारबाट निस्केको फोहोर पनि बाहिर फालिन्छ।
नेपालीको देखासिकी गरेर विदेशी पर्यटकले पनि बाटोमा फोहोर र प्लास्टिक फाल्दै हिंडन थालेका छन्। मन्दिर र विहार घुम्न जाने पर्यटकले बाहिरबाट लगेको खानेकुरा खाएपछि कागज, प्लास्टिक त्यत्तिकै फाल्ने गरेका छन्। जथाभावी नफाल भन्ने कोही हुँदैनन्। त्यही भएर जहाँ पायो त्यहीं फाल्ने गरिएको एक स्थानीयले बताए।
पश्चिम क्षेत्रमै रहेको नेपालको कर्मा सम्तेङ लिङ मोनास्ट्रीअघि पनि फोहोरको थुप्रो छ। उक्त फोहोर विहारबाटै निस्केको हो। सबै विहारका अघिपछि फोहोर छ। यहाँ रहेका विदेशीका विहार र मोनास्ट्रीमा समेत फोहोर व्यवस्थापन गर्ने मेसिन छैनन्। सबैले परम्परागत तरिकाले व्यवस्थापन गर्छन्। कतिपयले कम्पाउन्डभित्र र बाहिर फाल्छन्।
केन्द्रीय नहरको बाटो हुँदै म्यान्मार गोल्डेन टेम्पलसम्म पुग्दा पनि बाटोभरि गुटका, चाउचाउ र खानेपानीका बोतलका फोहोर छन्। महाबोधी सोसाइटी विहारको अघि त फोहोरको थुप्रो नै छ। नेपाल मन्दिर नजिकको मुण्डन क्षेत्र पनि उत्तिकै फोहोर छ। त्यहाँ स–साना बालबालिकाको कपाल खौरिने गरिन्छ। जसलाई स्थानीय मुण्डन भन्छन्। उता संग्रहालयनिर दक्षिण कोरियाका १०८ जनाको सहयोगमा बनेको आकर्षक साउथ पोन्ड पार्कको अवस्था पनि नाजुक छ। समयमा सफा नगरिंदा लेउ लागेको छ। कालै भएको छ। लुम्बिनी प्रवेश गर्दा उपासक/उपासिकाहरू रोमान्चित बनून् भनेर दाताले पार्क बनाइदिएका हुन्।
तेलार नदी डम्पिङ साइड
बुद्धको जीवनकालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको तेलार नदी डम्पिङ साइड बनेको छ। अहिले गुरुयोजनाभित्र हुँदै बगेको पवित्र नदी प्रदूषित भएको छ। नदी संरक्षण नगर्दा यो पुरिंदै गएको छ। भगवान् बुद्ध जन्मेपछि पहिलोपटक मामाघर देवदह जाँदा जसरी पहिलो पाउ नदीमा पर्यो, पानीजति सबै तेल बनेर उछालिएको जनश्रुति छ। त्यसैले लार भनेको बग्नु र तेल बगेकाले नदीको नाम तेलार रहेको स्थानीय विक्रम यादवले बताए। ‘त्यतिखेर हिमालबाटै नदी बगेर आउँथ्यो,’ उनले भने, ‘कति पवित्र मानिन्थ्यो?’ १०/१५ वर्षअघिसम्म यही नदीको पानी लैजान विदेशीको ओइरो लाग्ने गरेको उनले सुनाए। अहिले उक्त नदीमा फोहोर भरिएर दुर्गन्धित बनेको छ। अबको केही वर्षमा नदी नै पुरिने अवस्थामा पुगेको छ। ‘इतिहास र गौरव हामी आफैं मेटाउँदै छौं,’ यादवले भने, ‘यसको संरक्षण र सरसफाइतिर कसैको ध्यान नगएको देख्दा दु:खी छु।’
सरसफाइ धेरै राम्रो भएको छ : योजना प्रबन्धक भट्टराई
कोषमा ४ स्विपरसहित ७६ जनाले ज्यालादारीमा काम गर्छन्। उनीहरूमध्ये अधिकांस सरसफाइमा खटिएका छन्। यीमध्ये १५/२० जना तिलौराकोट, निग्रोधाराम, रामग्राम र देवदहलगायत ठाउँमा खटिएका छन्। कार्यालयको आवश्यकता अनुसार उनीहरूलाई वन, चौकीदार र अन्य काममा पनि लगाइएको कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए। ‘अहिले सरसफाइका क्षेत्रमा धेरै राम्रो भएको छ,’ उनले भने, ‘अहिले क्लिन लुम्बिनी : ग्रिन लुम्बिनी अभियान चलाएर सरसफाइको काम भइरहेको छ।’
अभियानका लागि १० जना महिला कामदार मंसिर १ गतेबाट कार्यरत छन्। उनीहरू पहिचान खुल्ने गरी खटिएका छन्। ‘बिहानदेखि साँझसम्म काम गर्छन्,’ उनले भने, ‘पुरुषभन्दा महिला कर्मचारी लगनशील र आज्ञाकारी हुन्छन् भनेर उनीहरूलाई सरसफाइमा लगाएका छौं।’
इकान्तिपुर