शेयर लगानीकर्ताबाट हाम्रो ज्यानमाथि नै खतरा आयो – धितोपत्र बोर्डका अधिकारी

नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले शेयर लगानीकर्ताहरु आक्रामक हुँदा आफुहरुको जिऊ ज्यानमै सुरक्षामा खतरा उत्पन्न भएको गुनासो गरेका छन् ।
धितोपत्र बोर्डमा आईतबार शेयर लगानीकर्ताहरुसँगको छलफलमा केही लगानीकर्ताले अब पनि पूँजी बजार सुधार र बिस्तारको काममा आलटाल भए फूलको माला लगाउने हो कि अर्को माला लगाउने भनी प्रश्न गरेका थिए ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डलगायतका नियमनकारी निकायहरुले पूँजी बजार सुधारका ५८ बुँदे सुझाव र शेयर लगानीकर्ता दबाब समूहले दिएको ३२ बुँदे मागको कार्यान्वयनमा ध्यान नदिएको, अनलाईन कारोबार प्रणालीलाई ठीक रुपमा कार्यान्वयनमा नल्याईदा त्यसको कारणले लगानीकर्ताले गुमाउनु परेको, प्यान, भ्याट र कालो धनको कुरा बेला बेलामा उठाएर आतंकित बनाउने प्रयास गरेको, शेयर दलाललाई शाखा बिस्तार गर्न नदिएर पूँजी बजारको पहुँच फैलाउन ब्यवधान खडा गरेको आरोप लगाएका थिए ।
छलफलमा क्यामराबाट भिडियो खिच्न बोर्डका अधिकारीहरुले प्रतिबन्ध लगाएपछि केही पत्रकारले क्यामरा बन्द गर्नु परेको थियो ।
छलफलको अन्तिममा लगानीकर्ताहरु आक्रोशित भएपछि बोर्डका अधिकारीहरु हलबाट बाहिरिएर आफुहरुको ज्यानको सुरक्षामै खतरा उत्पन्न भएको गुनासो गरे ।
बोर्डको हल बाहिर केही लगानीकर्ताहरुसँग कुरा गर्दै प्रबक्ता निरज गिरीले आफुहरुको ज्यानको सुरक्षामै प्रश्न खडा भएकाले काम गर्न नसकिने अबस्था उत्पन्न भएको दावी गरे । उनले कसैबाट आक्रामण हुनसक्ने भएकाले लगानीकर्ताहरुको संघसंस्थाका सिमित प्रतिनिधिका वीचमा मात्र कुरा गर्न चाहेको बताए ।
उनले बोर्डको हातामा केही समय अघि लगानीकर्ताका नेतामाथि नै हातपातको प्रयास भएको प्रसंग उल्लेख गर्दै लगानीकर्ताका भीडभाडमा आफुहरु जाँदा जे पनि हुनसक्ने भएकाले सचेत हुन थालेको जानकारी दिएका थिए ।
बोर्डका अधिकारीहरुले आफुहरुको सुरक्षामा चासो राख्दै शुरुमै पाँच जना प्रतिनिधिको बीचमा मात्र कुरा गर्ने अडान लिएका थिए तर पछि लगानीकर्ताहरुले तीब्र दबाब दिएपछि सामुहिक छलफलमा बस्ने तर आफुहरुको सुरक्षा हुनुपर्ने शर्त उनीहरुले राखेका थिए ।मेरोलगानिबाट