शेयर लगानीकर्तालाई प्यान किन र कसरी अनिबार्य गर्ने केही थाहा छैनः धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर किन्ने लगानीकर्तालाई मात्र किन ब्यक्तिगत करदाता नम्बर( प्यान) अनिबार्य गर्ने र कसरी गर्ने भन्ने बारेमा आफुलाई केही थाहा नभएको स्पष्टिकरण दिएको छ ।
पाँच वटा लगानीकर्ता संघहरुले आईतबार जावलाखेलस्थित बोर्डको भवनमा भेट्दा अध्यक्ष डा. रेबतबहादुर कार्की र कार्यकार्यकारी निर्देशक निरज गिरीले बैसाख १ गतेदेखि प्यान अनिबार्य गर्ने निर्णय आफुहरुले गर्दा अर्थ मन्त्रालयको आदेश मात्र तामेली गरेको स्पष्ट पारे ।
बोर्डका अध्यक्ष कार्की र गिरीले आफुहरुले बार्षिक कार्यक्रम र योजनामा प्यानलाई लिएर कारोबार गर्न शेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने मात्र उल्लेख गरेको तर अर्थ मन्त्रालयल्े दोस्रो बजारमा शेयर किन्नेले अनिबार्य रुपमा प्यान लिएको प्रमाण दिनुपर्ने भनी पत्राचार गरेकोले आफुहरुले केही भन्न नसकेको गुनासो गरे ।
आफुलाईं थाहा नभएको बिषयमा किन बैसाख १ गतेदेखि अनिबार्य गर्ने भनी निर्णय गरेर आबश्यक तयारी गर्न नेप्सेलाई निर्देशन दिएको त भन्ने प्रश्नमा पनि बोर्डका अधिकारीहरुले तर्किने प्रयास गरे । यसबीचमा निर्णय सर्बसाधारणको पहुँचबाट टाढा राखिदा भएको इृन्साईडर ट्रेडिड.को बारेमा पनि उनीहरुले जिम्मेवारी लिन चाहेनन् ।
उनीहरुले अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागसँग समन्वय गरी आफुहरुले चाँडै नै ठोस धारणा सार्वजनिक गर्ने जनाएका छन् ।
शेयर लगानीकर्ताहरुले प्यानबारे स्पष्ट पार्न भन्दै १८ वटा लिखित प्रश्न राखेकोमा त्यसबारे आफुहरुले केही जवाफ दिननसक्ने बोर्डका अध्यक्ष कार्की र गिरीले बताए ।