आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपीओ माघ १८ मा खुल्ने, १० कित्ता भर्न मिल्ने

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आशाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ भर्ने अन्तिम म्याद माघ २२ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा फागुन १९ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
आशा लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ दिएको छ । कम्पनीले चालु आर्थिक वर्षमा २ करोड ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ मा खुद नाफा ६ करोड २७ लाख र आव २०७७–७८ मा ६ करोड ८१ लख रुपैयाँ पुग्ने प्रक्षेपण छ ।
यता, चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ २९ पैसा, आव २०७६–७७ मा ३० रुपैयाँ २७ पैसा र आव २०७७–७८ मा ३२ रुपैयाँ ८५ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै, प्रतिसेयर नेटवर्थ चालु आवमा १०५ रुपैयाँ २३ पैसा, २०७६–७७ मा ११५ रुपैयाँ ५० पैसा र २०७७–७८ मा १२३ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण छ ।