टुँडिखेलमा माघ २१ र २२ गते सोनाम ल्होछार भव्यताको साथ मनाउने
याम्बु -तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ सहित एकसयभन्दा बढी तामाङ संघ/संस्थाहरुले यस बर्ष सामूहिक रुपमा सोनाम ल्होछार मनाउने भएका छन् । यसको लागि बुधबार घेदुङ हलमा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु सम्मिलित संयुक्त बैठकले घेदुङको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।
मूल समारोह समितिको सह संयोजकमा नेपाल राष्ट्रिय तामाङ घेदुङ रहेको छ भने अन्य तामाङ संस्थाहरु र राजनीतिक दल सम्बद्ध तामाङ संगठनहरु सदस्यको रुपमा रहेका छन् ।
सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार भन्ने मूल नाराका साथ काठमाडौं स्थित टुँडिखेलमा माघ २१ र २२ गते भब्य समारोहका बीच ल्होछार कार्यक्रम सम्पन्न गरिने समितिले जनाएको छ ।
यसलाई थप जिम्मेवारी बाँडफाँड सहित माघ १३ गते घेदुङ हलमा अर्को बैठक बस्ने र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने घेदुङका महासचिव बाबु घिसिङले बताए ।
उनले भने– माघ २१ गते पहिलो दिन खि ल्हो (कुकर बर्ग) को बिदाई स्वरुप ल्होछार इभ लगायत विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने र माघ २२ गते दोस्रो दिन ड्वा ल्हो (सुंगुर बर्ग) को सुरुवात भएको दिनको स्वागतमा झाँकी सहितको ¥याली, साँस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान आदि कार्यक्रमको आयोजना गरी मनाईनेछ ।
साँस्कृतिक पर्व प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित समारोहमा यस बर्ष तामाङको साँस्कृतिक प्रस्तुति मात्रै नभएर तामाङ जातिको मौलिक वस्तुहरु, खानपीन, गरगहना, भेषभूषा, प्रकाशन आदिको समेत प्रदर्शनी राखिने भएको छ ।
मूल समारोहको नेतृत्व गर्ने संस्था घेदुङले टुँडिखेलमा ल्होछार कार्यक्रम सञ्चालनको लागि मैदान उपलब्ध गराउन अनुमति मागेको दुई संस्थाहरु तामाङ बौद्ध महासंघ र तामाङ संस्कृति कला केन्द्रलाई समेत बैठकमा आमन्त्रण गरेको थियो ।
बैठकमा बौद्ध महासंघका महासचिव टेकराज तामाङले सोनाम ल्होछार मान्न आफ्नो संस्था तयार रहेको र सम्वत्को सन्दर्भमा थप छलफल गरेर टुंग्याउनु पर्ने धारणा राखेका थिए ।