ब्रिटिश आर्मीमा भर्ती हुन २० लाखसम्म माग्छन् दलाल !

एजेन्सी । ब्रिटिश गोर्खा आर्मीमा भर्ती हुन १८ देखि २१ वर्षीय नेपाली युवाहरु अहिले डोकोमा २५ किलो बालुवा बोकेर उकालो ओरालो दौडिरहेका छन् । पाँच किलोकिटरको यस दौड प्रतिस्पर्धामा अत्यन्तै भिरालो बाटो हुन्छ जसलाई सहभागीहरुले ४६ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।
यसरी ब्रिटिश आर्मीले लिने गरेका कठिन शारीरिक एवम् मानसिक परीक्षाहरुमा डोको दौड पनि पर्दछ । यस्ता विभिन्न चरणका प्रशिक्षणमा सफल भएपछि मात्र उनीहरुले ब्रिटिश गोर्खा आर्मीमा आफ्नो स्थान पक्का गर्न सक्छन् ।
‘डरपोक हुनु भन्दा मर्नू बेस्’ भन्ने गोर्खालीको पुरानो सिद्धान्तमा आधारित रहेर युवाहरु यस कठिन परीक्षाको तयारी गर्ने गरेका छन् । यस महिना पनि सयौँ युवाहरु पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा प्रतिस्पर्धा गर्नेछन् जहाँ ४०० को माग गरिएको छ । २०१८ मा ६ हजार भन्दा बढी युवाहरुले क्षेत्रीय छनौटको चरणका निम्ति आवेदन दिएका छन् ।
ब्रिटिश आर्मी एउटा साधारण जागिर नभएर धेरै नेपालीहरुका लागि सुन्दर भविष्य सुनिश्चित गर्ने चिठ्ठा सरह मानिने हुनाले पनि युवाहरु यसका लागि सबै त्याग गर्न तयार हुन्छन् भने अभिभावकले पनि उत्तिकै जोड दिने गरेका छन् । राम्रो पारिश्रमिकसहित पेन्सन र बेलायतमा बस्ने अवसर मिल्ने हुँदा हरकोहीका लागि यो ठूलो सपना बन्ने गरेको छ ।
तर ब्रिटिश आर्मीको सो भर्ती प्रक्रिया स्वतन्त्र र निस्पक्ष रहेको दाबी गरिएपनि पछिल्ला केही वर्षहरुमा यो निजी प्रशिक्षण संस्था र एजेन्टहरुका लागि ठूलो आम्दानीको स्रोत बन्दै गएको पाइएको छ । ब्रिटिश क्याम्पमा आफ्नो सम्पर्क प्रयोग गरि स्थान सुनिश्चित गराइदिने बाचासहित यस्ता एजेन्टहरुले परिवारबाट लाखौँ रुपैँया ठगी गर्ने गरेको पाइएको छ ।
यसैको तयारीमा रहेका १९ वर्षीय उमेदवार अशोक थापाका अनुसार उनकी आमालाई पनि एजेन्टहरुले त्यसैगरी २० लाख रुपैयाँ माग गरी ब्रिगेडमा सिट सुरक्षित राखिदिने बताएका थिए । उनी भन्छन्, “मेरी आमा त पैसा दिन तयार पनि भइसक्नु भएको थियो । तर मैले नै उनलाई यो सबै ठगी गर्ने चाल हो भनेर सम्झाएँ । म आफ्नै क्षमताले लड्न चाहान्छु ।”
यसरी ब्रिटिश सेनासँग कुनै सम्बन्ध नभएका र त्यहाँका फैसलालाई प्रभावित गर्न नसकेपनि हताशिएका अभिभावक ठगहरुका निम्ति संवेदनशील शिकार मानिन्छन् । यसरी नेपालमा ब्रिटिश आर्मीको व्यापक मोह रहेकाले यस्ता घटना सामान्य भएको ओम थापा बताउँछन् जो एक प्रशिक्षण एकेडेमीका सञ्चालक हुन् ।
वर्षौं अगाडि बेलायती आर्मीले पूर्वगोर्खालीहरुलाई योग्य व्यक्ति खाजी गर्न पहाडतिर पठाउने गर्दथे । त्यतिबेला गरिबीले यसमा कुनै बाधा पुर्याउँदैनथ्यो । तर अहिले प्रक्रिया नै फरक भइसकेको हुँदा आजका अधिकांश उमेदवारहरु धेरै पढेलेखेका र राम्रो अङ्ग्रेजी बोल्न सक्ने अनि पेशेवर हुने गरेको गोर्खा फिटनेस ट्रेनिङ एकेडेमीका मालिक राजेश राई बताउँछन् । उनी भन्छन्,“विगतमा उनीहरु केबल बलियो हुने गर्दथे ।”
यसरी योग्य उमेदवारहरुले सेनामा भर्ती हुन ब्रिटिश आर्मीलाई कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । तरपनि उनीहरु विभिन्न प्रशिक्षण केन्द्रहरुमा हजारौँ रुपैयाँ खर्च गर्न बाध्य हुन्छन् जसले तिनलाई परीक्षाका लागि पूर्ण तयारी गराउने बाचा गरेको हुन्छ । पछिल्लो १० वर्षमा देशभरमा यस्ता संस्थाहरु पाँच गुनाले वृद्धि भएका छन् । यसरी परीक्षाको महिनौँ अगाडिदेखि युवाहरु यी प्रशिक्षण केन्द्रमा गई कडा ट्रेनिङ लिन सुरु गर्दछन् । जसमा कुनै विद्यार्थी अन्तिम चरणसम्म पुगेर छनोट हुन सफल भएमा सो प्रशिक्षण केन्द्रले आउँदा वर्षहरुमा पनि सजिलै विद्यार्थी आकर्षित गर्न सक्छ भने असफल विद्यार्थीहरु समेत पुनः भर्ना हुने गर्दछन् ।
यसरी प्रत्येक चरणको ट्रेनिङका लागि संस्थाहरुले सामान्यमा ३५ हजार रुपैयाँसम्म उठाउने गरेका छन् । तर यसले केबल युवाहरुलाई गलत चक्रब्युहमा फसाएर भ्रम मात्र फैलाइरहेको अशोक थापा बताउँछन् । उनका अनुसार यस्ता प्रशिक्षण केन्द्रमा ट्रेनिङ नलिएसम्म सेनामा छनोट हुन सकिँदैन भन्ने गलत मान्यताका कारण मानिसहरु जोखिम मोल्न चाहँदैनन् ।
अर्का २० वर्षीय युवक रबि शर्माका अनुसार उनले प्रशिक्षण केन्द्रमा भर्ना हुन साथीहरुसँग ऋण लिनुपरेको छ । आफूले यसअघि कहिल्यै एकेडेमीमा ट्रेनिङ नलिएको भएपनि अर्को वर्ष उमेर हद पार हुने हुँदा अन्तिम मौका नगुमाउन सक्दो प्रयास गरिरहेको उनी बताउँछन् ।
काठमाडौंस्थित नेपाल शारीरिक प्रशिक्षण संघका सहसचिव हिमाल लिम्बु भन्छन्, “त्यस्ता ट्रेनिङ सेन्टरमा जाने नजाने भन्ने उमेदवारमै भर पर्ने कुरा हो ।”
ब्रिटिश गोर्खाले भने आफूहरुको त्यस्ता संस्थासँग कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ । आफूहरुले परीक्षामा सफल हुन कुनैपनि प्रशिक्षण केन्द्रमा ट्रेनिङ लिन आवश्यक नरहेको भन्दै सक्रिय रुपमा प्रचार गरिरहने गरेको ब्रिटिश गोर्खाका प्रवक्ताले बताएका हुन् ।
उनका अनुसार आर्मीमा छनोट हुन अतिरिक्त खर्च गर्न निरुत्साहित गर्ने गरिएपनि उमेदवारहरुलाई ट्रेनिङ नलिन जोड जबरजस्ती गर्न मिल्दैन । यस सम्बन्धि सम्पूर्ण जानकारी सेनाको वेबसाइटमा उपलब्ध रहेको उनले बताएका छन् ।
गोर्खा आर्मी भर्तीबारे अनुसन्धान गरिरहेकी राजनीतिक नेतृत्वशास्त्री नेआ कोबर्नका अनुसार यसको जिम्मा ब्रिटिश आर्मीले नै लिनुपर्छ । उनी भन्छिन्, “हजारौं युवाहरु आफ्नो स्कुल र अन्य करिअरका अवसर छाडेर यसैमा लागि परेका हुन्छन् । यसरी उनीहरु एकपटकमा पास नभए फेरि पनि तिनै प्रशिक्षण केन्द्रमा भर्ना हुने हुँदा धेरै विद्यार्थीहरु ठूलो ऋणमा फसिरहेका छन् जुन गम्भीर समस्या बन्दै गइरहेको छ । तर ब्रिटिश आर्मीले यसलाई बेवास्ता गरिरहेको छ ।”
यस्तै एकेडेमी मध्येको एक हो गोर्खा फिटनेस जसमा यो वर्ष पहिलो चरणको प्रशिक्षणका लागि मात्र ७०० विद्यार्थी भर्ना भएको सञ्चालक राजेश राई बताउँछन् । सो प्रशिक्षण केन्द्रको कम्पाउन्ड आर्मी क्याम्प बराबर रहेको छ जहाँ खान सुत्न देखि क्यान्टिन र जिमको सुविधा रहेको छ । १९ वर्षीय कुमार नेवार सो केन्द्रमा दुई वर्षदेखि प्रशिक्षण लिइरहेका छन् । अघिल्लो वर्ष उनी अन्तिम चरणमा पुगेर कानको समस्याका कारण फेल भएका थिए । उनी भन्छन्, “त्यतिबेला मलाई असाध्यै नराम्रो लाग्यो । म धेरै रोएँ पनि किनकी मेरो परिवारले यसका लागि तीन लाख खर्च गरिसकेको छ ।”
यसरी गोर्खा आर्मीमा भर्ती हुनु आम्दानीका साथै प्रतिष्ठाको कुरा पनि हो । त्यसैले हरेक बिहान र बेलुकीपख पोखराका मैदानहरुमा युवाहरु कडा परिश्रम गरिरहेको देख्न सकिन्छ । विशेषगरी २० वर्षीय प्रकाश राना जस्ता दक्ष उमेदवारका लागि यो जोखिम लिन लायक कुरा हो । किनकी यदि ३५ हजार भविष्यमा ३५ लाख बन्न सक्छ भने प्रयास किन नगर्ने ? द गार्जियनबाट