मनि एक्सचेन्जको आवरणमा हुन्डी कारोबार, ३५ लाखसहित २ जना पक्राउ

काठमाडौं– काठमाडौंबाट हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । काठमाडौंको विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठ र सोलुखुम्बु घर भइ ललितपुरको सानेपा बस्ने भरत बहादुर बस्नेत पक्राउ परेका हुन् ।
आइतवार दिउँसो काठमाडौंको भूगोल पार्कमा बा ७ च २५६९ नम्बरको कारलाई चेकजाँच गर्दा भरत बहादुर बस्नेत पक्राउ परेका थिए । उनले कारको डिग्गीमा राखेको निलो रङको झोलामा ३५ लाख रुपैयाँ बोकेका थिए ।
प्रहरीले सोधपुछका क्रममा उक्त रकम कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठको भएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सुराकीबाट प्राप्त सूचनाका आधारमा उनीहरुमाथि निगरानी बढाएको थियो ।
प्रहरीका अनुसार मनि एक्सचेन्जको आवरणमा उनीहरुले अवैध रुपमा हुन्डीको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले थप अनुसन्धानको दुवैजनालाई राजश्व अनुसन्धानको जिम्मा लगाइने जनाएको लोकान्तरमा छ |
पुस ३०, २०७५ मा प्रकाशित