थारू समुदायले टुँडिखेलमा माघी मनाउन नपाउने

- काठमाडौं– सरकारले थारू समुदायलाई माघी पर्व मनाउन टुँडिखेल उपलब्ध नगराउने भएको छ । २०५९ सालदेखि टुँडिखेलमा माघी मनाउँदै आएको थारू समुदायलाई यस पटकक सेनाले टुँडिखेल प्रयोग गर्न नदिने बताएको हो ।
राष्ट्रिय स्तरमै माघी मनाउने तयारी गरेको थारू समुदाय टुँडिखेल प्रयोग गर्न नपाउने भएपछि आक्रोशित बनेको छ । त्यसो त २०७२ सालमा पनि सेनाले थारू समुदायलाई माघी मनाउन टुँडिखेल प्रयोग गर्न दिएको थिएन । त्यसपछि दशरथ रंगशालामा माघी मनाइएको थियो ।
यस वर्षको माघीमा प्रधानमन्त्रीलाई नै मुख्य अतिथि बनाउने तयारीमा रहेको थारू समुदाय टुँडिखेलमा पर्व मनाउन नपाउने भएपछि अन्योलमा परेका छन् । थारू समुदायका अगुवा, समाजसेवी तथा नेपाल गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले थारू सुमदायलाई टुँडिखेलको मैदान प्रयोग गर्न नदिएर सेनाले थारूलाई हेपेको आरोप लगाए ।
लोकतन्त्रमा पनि थारू समुदायलाई वहिष्कृत गर्ने शैली अपनाएको भन्दै चौधरीले थारू समुदायलाई टुँडिखेल प्रयोग गर्न दिनुपर्ने माग गरेका छन् ।