क्रोएसिया यात्रामा मिस शेर्पा

काठमाडौं : मिस शेर्पा २०७५ विजेता दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन जाने भएकी छन्। यसै साता सम्पन्न प्रतियोगिताबाट मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो मिस शेर्पा हुन्।
विश्वमाझ पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले आयोजित प्रतियोगितामा नेपालीले पहिलोपटक भाग लिँदै छन्। भ्रमण वर्ष २०२० सफल बनाई २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोग गर्न नेपालको पर्वतारोहण र अन्य पर्यटकीय क्षेत्रको प्रचारमा जुट्ने तयारी थालेको दाबुटीले बताइन्। २३ वर्षीया दाबुटीले क्रोएसियामा हुने प्रतियोगितामा भाग लिएर देशको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने बताइन्। नेपाल हिमालै हिमालको देश भए पनि प्रचारप्रसारको अभावले पर्वतीय पर्यटनको विकास हुन नसकेको उनी बताउँछिन्।
गौरीशंकर गाउँपालिका–९, सिमीगाउँ दोलखाकी दाबुटी उत्कृष्ट आरोहीसमेत हुन्। उनले यसै वर्ष सर्वोच्च शिखर सगरमाथा र विश्वकै कठिनमा तेस्रो मानिने अमादब्लम हिमालको सफल आरोहण गरिसकेकी छन्। दुई हजार एक सय मिटरको हिमाली गाउँमा जन्मिएकी उनी हिमालसँग परिचित छिन्। हिमाल आरोहण आफ्नो रहर मात्र नभएर पर्यटन प्रवद्र्धनमा जोड दिने लक्ष्य भएको उनले बताइन्। यसै वर्ष अमादब्लमको चुचुरोमा उनले भ्रमण वर्ष २०२० को झन्डा फहराइन्।
डिपास इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा मिस शेर्पाको पाँचौ संस्करणको ताज उनले जितेकी हुन्। ताजसँगै उनले मिस बेस्ट ट्यालेन्टको अवार्डसमेत हात पारिन्। व्यवस्थापनमा स्नातक अध्ययनरत उनले आरोहणसँगै मितिनी क्याफे सञ्चालन गरेर कफी प्रशिक्षणसमेत गर्दै आएकी छन्। उनलाई मिस शेर्पा २०१७ की विजेना सोनाम डोल्मा शेर्पाले ताज पहिर्याइदिइन्। उपाधिसँगै दाबुटीले ३० हजार तीन सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। अन्न्पुर्णपोस्टबाट |