बौद्ध स्तूपमा हतियार प्रयोग गरी हजारौँ प्वाल पारेकोमा कारबाहीको माग

काठमाडौं । विश्वसम्पदाको सुचिमा रहेको बौद्ध स्तूपमा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध मेलम्ची घ्याङ गुठीलाइ कारबाही माग गरेको छ । पुरातत्त्व विभागको अनुमति समेत नलिई स्तूप परिसरमा जेनेरेटर राखेको भन्दै त्यसलाई हटाउन र सम्पदा क्षेत्रमा गैरकानुनी काम गर्ने गुठी पदाधिकारीलाई कारबाही गर्नुपर्ने समितिको माग छ ।
महाचैत्यको हर्मिकादेखि नै प्वाल पारिएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार लामाले बताए । ‘हजारौं प्वाल पारिएको छ,’ लामा भन्छन्, ‘ताइवान, हङकङ लगायतका नागरिक आएर ड्रिल गरे । हामीले रोक्न खोज्दा पनि मानेनन् ।’
सबैभन्दा बढी क्षति स्तूपकोमेरुदण्ड मानिने ‘सोक्सिङ’ (रस्ती) मा परेको छ । १३ तलाको बीचमा हुने ‘सोक्सिङ’ मा अग्राखको काठ हुन्छ । त्यसमा सुनको अक्षरले बुद्ध मन्त्र लेखिएको हुन्छ । ‘सोक्सिङ’ को चारै दिशामा पञ्चबुद्ध (बहिलोचन, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिसहित पञ्चबुद्ध) को प्रतिमा राखिएको हुन्छ ।
विश्वसम्पदा सूचीमा कुनै पनि नयाँ संरचना राख्न पाइँदैन । विश्वसम्पदा सूचीको बौद्धनाथ उपत्यकाको पुरानो सम्पदामध्येमा पर्छ । यसको निर्माण कुन बेला भयो भन्ने यकिन छैन ।
गुठीले यहाँ निगरानीका लागि सीसीक्यामेरा राख्न लागेको जनाएको छ ।
बौद्धनाथ विकास समिति ऐनअनुसार सम्पदा क्षेत्रमा कुनै हतियार प्रयोग गरी सम्पदा बिग्रार्ने काम गरेमा त्यसलाई जफत तथा कारबाही गर्ने अधिकार छ । गुठीले गत वर्ष बौद्धनाथ स्तूप परिसरमा डिजिटल बोर्ड राखेको थियो । स्थानीय लगायत सम्पदा संरक्षण अभियन्ताको विरोधपछि एक महिनामा गुठीले डिस्प्ले हटाएको थियो ।