इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य

काठमाडौँ । इजरायल र साइप्रसका लागि प्रस्तावित राजदूत डा. अन्जान शाक्यले इजरायलबाट अत्याधुनिक कृषि प्रविधि भित्र्याएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइ समितिमा आज भएको सुनुवाइका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले २.३ प्रतिशत इजरायलीहरुले अत्याधुनिक प्रविधियुक्त कृषि पेसा गरी इजरायललाई कृषिमा आत्मनिर्भर बनाई बाहिर निर्यात गरिरहेको प्रसँग उल्लेख गर्दै डा. शाक्यले भन्नुभयो,त्यस्तै प्रविधि नेपालमा भित्र्याउन र नेपाललाई पनि कृषिमा आत्मनिर्भर बनाउन मैले इजरायल सरकारसँग विशेष पहल गर्नेछु ।
संसदीय सुनुवाईका क्रममा उठेका प्रश्नहरुको जबाफ दिने क्रममा उहाँले इजरायल र साइप्रसका पर्यटक नेपालमा ल्याउन विशेष योजनाका साथ काम गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, इजरायलको मृतसागर र हाम्रो सगरमाथाबीचको सम्बन्ध प्रचार गरेर नेपालमा इजरायलका पर्यटक बढाउने छु । मृत सागरमा सगरमाथाको ढुंगा राखिएको छ भने सगरमाथाको आधार शिविरमाथि मृत सागरको ढुंगा ल्याएर मूर्ति बनाइएको छ । यसको प्रचारप्रसारले पर्यटक बढाउन सहयोग पुग्नेछ ।
उहाँले इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याएर स्मार्ट सिटी, स्मार्ट कन्ट्री बनाउन विशेष पहल गर्ने पनि स्पष्ट पार्नुभयो ।
डा. शाक्यले नेपालसँग इजरायल र साइप्रसको सम्बन्ध अझ बढी मजबुत र प्रगाढ बनाउँदै आर्थिक तथा उद्योग वाणिज्य क्षेत्रमा थप सहायोग अभिबृद्धि गर्न आवश्यक प्रयास गर्ने पनि बताउनुभयो । उहाँले इजरायल र साइप्रसबाट प्रत्यक्ष लगानी नेपाल भित्र्याउन आफूले कूटनीतिक प्रयास गर्ने बताउँदै त्यहाँ कार्यरत नेपाली कामदारको सेवा,सुविधा बृद्धि तथा सुरक्षाका लागि काम गर्ने साथै थप नेपालीका लागि रोजगारीको अवसरको बढाउन इजरायल र साइप्रस सरकारसँग कुरा गर्ने बताउनुभयो ।
हाल इजरायलमा चार हजार र साइप्रसमा तीन सय नेपाली कामदार कार्यरत छन् ।
नेपाल सरकारले परराष्ट्रविद् डा. शाक्यलाई इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले डा. शाक्यलाई राजदूतमा सिफारिश गरेको थियोे ।
सरकारले इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत निरञ्जनकुमार थापालाई तीन साताको तयारी म्याद दिई फिर्ता बोलाएको छ ।
इजरायल तथा साइप्रसका लागि राजदूत सिफारिस डा. शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म काम गरी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी डा.शाक्यले परराष्ट्र मामिलामा विशेष दखलता हासिल गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको लामो अनुभव समेत रहेकी डा.शाक्य नेपाल महिला चेम्बर्स अफ कमर्सको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने कार्य गर्नुभएको छ । लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील डा.शाक्यले ‘नेपाल —चाइना रिलेसन, ‘नेपाल —इन्डिया रिलेसनल’, नेपाल–जापान सम्बन्ध लगायतका आधा दर्जन पुस्तक सम्पादन कार्य समेत गर्नुभएको छ ।
उहाँले पद्मकन्या कलेजमा विसं.२०५२ सालदेखि करिब एक दशक प्राध्यापन गर्नुभएको छ । उहाँ अमेरिकी युनिभर्सिटी अन्तर्गतको पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापन गर्ने कार्य पनि गर्दै आउनुभएको छ ।
‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोल लगायत दर्जनौँ चर्चित राष्ट्रिय गीतका गायिका डा.शाक्यले डेढदशक अघि नेपाल टेलिभिजनको समाचार वाचिका भएर पनि काम गर्नुभएको छ ।
बहुमुखी प्रतिभाका धनी,निडर, नेतृत्व गर्ने क्षमता र योग्यता भएकै कारण सक्षम महिलामध्येबाट उहाँलाई सरकारले राजदूतमा सिफारिश गरेको हो । मैत्रीन्युजबाट |