दुई कम्पनीको बुधवारदेखि आईपीओ निष्कासन

काठमाडौं – मध्य भोटेकोशि जलविद्युत कम्पनी र चौतारी लघुवित्त वित्तिय संस्थाले बुधवार (मङ्सिर १९) देखि आईपीओ निष्कासन गर्दैछन् ।
मध्य भोटेकोशि जलविद्युत कम्पनीले दोस्रो चरणमा २७ लाख कित्ता आईपीओ विक्रीमा ल्याउन लागेको हो । जसमध्ये संस्थापक सङ्गठित संस्थाका कर्मचारीको लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीको लागि ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । दोस्रो चरणको आईपीओमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिआईबिएल क्यापिटल रहेका छन् ।
चौतारी लघुवित्त वित्तिय संस्थाले ६ लाख कित्ता आईपीओ विक्रीमा ल्याउन लागेको हो । जसमध्ये कर्मचारीको लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाई ३० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख ६० हजार ७ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा छिटोमा मङ्सिर २३ र ढिलोमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालले यो आईपीओ लाई आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।