प्रियंका– निकको विवाहमा किन विरोध नै विरोध ?

प्रियंका चोपडा र निक जोनसको विवाहको जताततै चर्चा छ । एकातर्फ विवाहको भव्य प्रवन्ध मिलाइएको भन्दै उपस्थित पाहुनाको चर्चा भइरहेको छ भने अर्कोतर्फ आलोचना पनि भइरहेको छ ।
सोसल मिडियामा विवाहमा आतिशबाजीका लागि ट्रोलको सामना गरिरहेकी प्रियंका चोपडाले अब विवाहमा हात्ती–घोडाको प्रयोग गरेको भन्दै पशुअधिकारका लागि काम गरिरहेको पेटाले आलोचना गरेको छ ।
पेटाले ट्वीट गरेको छ, ‘प्रिय, प्रियंका चोपडा र निक जोनस । तपाईंहरुले आफ्नो विवाहमा बाँधिएका हात्तीको प्रयोग गर्नुभयो । घोडाको प्रयोग गर्नुभयो जसलाई निकै क्रुरतापूर्वक नियन्त्रण गरिन्छ । आजकाल मानिसहरु जनावरमाथि यात्रा गर्न अस्विकार गरिरहेका छन् र विवाहमा पनि घोडाको प्रयोग गरिरहेका छैनन् । तपाईंलाई बधाइ तर हामीलाई अफसोस छ कि यो जनावरका लागि राम्रो दिन रहेन ।’ यो ट्वीटसँगै पेटाले एउटा भिडियो पनि सेयर गरेको छ जसमा विवाहमा प्रयोग गरिने घोडालाई कसरी प्रताडित गरिन्छ भनेर देखाइएको छ ।
यसका साथै, विवाहमा आतिशबाजीका लागि पनि सोसल मिडिया प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । उनको विवाहमा उम्मेद भवन प्यालेस बाहिर भव्य आतिशबाजीको दृश्य देखिएको थियो । उक्त आतिशबाजीको भिडियोसँगै सोसल मिडियामा प्रियंकाको एउटा पुरानो भिडियो पनि सेयर भइरहेको छ जसमा उनले मानिसहरुलाई प्रदुषण फैलने भएकाले दिवालीमा पटाखा नपड्काउन आग्रह गरेकी थिइन् | एजेन्सि