सरकारी कामकाजमा लिम्बू भाषा प्रयोगको औपचारिक थालनी

इलाम — माङसेबुङ गाउँपालिकामा स्थानीय भाषालाई सरकारी कामकाजका रूपमा प्रयोग थालिएको छ । माङसेबुङ ५ ले औपचारिक रूपमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएको हो ।
लारुम्बामा बिहीबार आयोजित कार्यक्रममा यो वडामा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गरिने घोषणा गरिएको हो ।
माङसेबुङ गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष नरेन्द्र राईले घोषणापत्र वाचन गर्दै लिम्बू भाषा प्रयोगको औपचारिक थालनी गरे ।
यस वडाका धेरै बासिन्दा लिम्बूभाषी रहेको बताउँदै उनले दैनिक काम कार्यसम्पादनमा सहजता र भाषा संरक्षणका लागि यो अभियान फलदायी हुने धारणा राखे ।
धर्मगुरु आत्मानन्द लिङदेनले आशीर्वाचन प्रदान गरेको कार्यक्रममा प्रदेश सांसद धीरेन्द्र शर्मा, गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
यस क्षेत्रका प्रदेश सभासद शर्माले स्थानीय भाषाको प्रवर्धनका लागि प्रदेश सरकारले सक्दो पहल गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले वडा कार्यालयको साइनबोर्ड परिवर्तन गर्दै अन्य क्षेत्रमा क्रमश: त्रैभाषिक साइनबोर्ड राख्दै लगिने बताए ।
यो अभियानले अन्य स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत स्थानीय भाषाको संरक्षण र सम्मानका लागि सकारात्मक सन्देश जाने सहभागीको भनाइ थियो ।
प्रदेश १ मा नै पहिलो पटक लिम्बू भषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न थालिएको हो ।
संविधानले स्थानीय भाषालाईसमेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
करिब २ हजार मतदाता रहेको यो वडामा ७५ प्रतिशत लिम्बू समुदायको बसोबास छ ।
मंसिर १३, २०७५