सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर भाडामा दिन सूचना प्रकाशित गरेको देखिएको छ।
प्राधिकरणको वि.सं. २०७२ चैत १० गतेको परिपत्रमा ठेक्का सूचना गोरखापत्रसहितका पत्रिकाहरुमा प्रकाशन गर्नुपर्ने उल्लेख छ। यो नियम प्राधिकरण मातहतका सबै कार्यालयहरुका लागि हो।
‘बोलपत्र, सिलबन्दी, कोटेशनका सूचनाहरु प्रकाशन गर्दा गोरखापत्र राष्ट्रिय दैनिकमा समेत प्रकाशन गर्नुपर्छ र सो सूचना यस प्राधिकरणको वेबसाइटमा राखी, वेबसाइटमा राखिएको जानकारी पनि पत्रिकामा प्रकाशित गर्नुपर्छ’, उक्त मितिको प्राधिकरण परिपत्रमा भनिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सटर भाडामा दिने सन्दर्भमा महाप्रबन्धक क्षेत्रीबाट प्राधिकरणको यो नियमको ठाडो उल्लंघन भएको हो। सरकारी नियम उल्लंघन गरी सेटिङ मिलाएर उनले अन्तर्राष्ट्रिय विमानस्थलका सटर सुन तस्करीमा विवादित व्यापारी विमल पोद्दार र एमके अग्रवाल समूहलाई भाडामा दिन चाहेका थिए। त्यसका लागि क्षेत्री र सुन तस्कर समूहबीच एक ठेकेदार सांसदले भेटवार्ता गराइदिएका थिए। पोद्दार गृह मन्त्रालयको सुन तस्करी अनुसन्धान समितिको सिफारिशमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। फरार रहेका अग्रवाल प्रहरीको खोजी सूचीमा छन्।
क्षेत्रीले प्राधिकरणको नियम उल्लंघन गरी नेपाल समाचारपत्रमा मात्र सूचना प्रकाशन गरेका थिए। पछिल्लो समय समाचारपत्र सबैभन्दा थोरै प्रति प्रकाशित हुने दैनिक पत्रिकामध्ये पर्छ। सूचना प्रकाशित गरिएको पृष्ठ पनि गायब पारेर जनसमक्ष पुग्न रोकिएको थियो।
यो विषय सार्वजनिक भएसँगै गैरकानुनी कार्य गर्ने समूहलाई सटर भाडामा दिन विभागीय निर्णय उल्लंघन गर्ने उनीविरुद्ध कारवाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले निर्देशन दिएका थिए।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले कार्तिक १६ गते विमानस्थल प्रमुख क्षेत्रीलाई सम्बोधन गरी सटर भाडामा दिने विषयमा भएको अनियमितताबारे स्पष्टिकरण मागेका थिए। क्षेत्रीले त्यसको जवाफ बुझाइसकेको बताए।
मन्त्री अधिकारीले आइतबार साँझसम्म कारवाहीको कुनै सूचना पाएका छैनन्। ‘यस विषयमा के कारवाही भएको हो म महानिर्देशकसँगै बुझ्दैछु’, उनले भने।
प्राधिकरण स्रोतका अनुसार स्पष्टिकरण पाए पनि महानिर्देशक गौतमले क्षेत्रीविरुद्ध कारवाही अघि बढाएका छैनन्। ‘यसरी बदनियत राखी हाकाहाकी विभागीय निर्णय उल्लंघन गर्दा यसअघि तत्कालै विभागीय कारवाही हुन्थ्यो। यो पटक किन सुस्त भइरहेको हो थाहा छैन’, प्राधिकरण स्रोतले भन्यो।
बद्नियत राखी पहिलो पटक क्षेत्रीले सरकारी नियमको उल्लंघन गरेका होइनन्। ‘धेरै पटक उनले विभागीय निर्णयभन्दा बाहिर गएर यस्ता काम गरेका छन्’, क्षेत्रीलाई नजिकबाट चिन्ने प्राधिकरणका एक पूर्व अधिकारी भन्छन्, ‘मन्त्रालयका बरिष्ठ अधिकारीदेखि नेतासम्मलाई सेटिङ गर्ने क्षमताकै कारण उनी आज त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन्। अदृश्य कमाइको थलो त्यहाँ सबैभन्दा बढी समय बिताउने अधिकारीमा उनी पर्छन्।’
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्पोरेट प्रमुख रहँदा उनले ३ वर्षका लागि ठेक्का दिने नियम परिवर्तन गरी १० वर्षसम्म ठेक्का नवीकरण गर्न सकिने नियम बनाएका थिए। ठेकेदार पोस्ने सो प्रस्तावलाई प्राधिकरण बोर्डले अनुमोदन गरेको थियो। हाकाहाकी अनियमितता गर्न बाटो खोल्ने सो निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोकेको थियो। क्षेत्रीले साे निर्णय तत्कालीन महानिर्देशककाे प्रस्तावमा बाेर्डबाट पारित भएकाे दाबी गरेको समाचार नेपालखबर छ |