इजरायली रक्षामन्त्री लिबरम्यानले दिए पदबाट राजीनामा
तेल अविव – इजरायली रक्षामन्त्री एविगदोर लिबरम्यानले पदबाट राजीनामा दिएका छन् । गाजा क्षेत्रमा केही दिनदेखि इजरायलले गरिरहेको भीषण आक्रमण रोक्ने र युद्धविराम गर्ने मन्त्रिपरिषदको निर्णयमा असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिँदै छिटो निर्वाचन गराउँन आग्रह गरेपछि इजरायली सरकार पनि संकटमा परेको छ । लिबरम्यानले आफ्नो राजीनामाको कारण उल्लेख गर्दै पत्रकारसँग भने, ‘हमाससँग युद्धविराम गर्ने निर्णय आतंकवादसँगको आत्मसमर्पण हो । यसको अर्को कुनै अर्थ छैन ।’
उनले भने, ‘एक राज्यका रुपमा हामीले एक लघुकालीन शान्ति खोजिरहेका छौं, जसको मूल्य राष्ट्रिय सुरक्षामा दीर्घकालीन नोक्सान हुनेछ ।’
उनले छिटोभन्दा छिटो चुनावका लागि कुनै मितिमा सहमति हुनुपर्ने समेत बताएका छन् । उनले आफ्नो पार्टी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्तारुढ गठबन्धनबाट हटेको जानकारी पनि गराएका छन् । यद्यपि नेतान्याहुको सरकार अझै बहुमतमा रहेको छ । संसदमा अब उनको सरकारलाई १ सिटको बहुमत प्राप्त हुनेछ ।
इजरायलमा सन् २०१९ को नोभेम्बरमा चुनाव हुने मिति तय भएको छ । तर लिबरम्यानको राजीनामाले त्यसअघि नै निर्वाचन हुने सम्भावना पैदा भएको छ । उनी इजरायलको सुरक्षालाई लिएर निकै कट्टरपन्थी मानिन्छन् । उनी दक्षिणपन्धी इजरायल बेतेनु पार्टीका प्रमुख हुन् ।
इजरायली संसदमा उनको पार्टीका पाँच सांसद रहेका छन् । यद्यपि नेतान्याहुले यतिबेला गाजा क्षेत्रमा युद्धविराम गर्नुपर्ने पक्ष लिएका छन् । जसले गर्दा हमास र इजरायली सेनाबीचको भीडन्त रोकिएको छ ।
आइतबारराति इजरायली सेनाले गाजा क्षेत्रमा प्रवेश गरेर एक हमास कमाण्डरसहित ७ जनाको हत्या गरेपछि गाजा क्षेत्रमा हिंसा फैलिएको थियो । एजेन्सी |