इजरायलद्वारा ‘हमासका सैन्य स्थलमा’ भीषण आक्रमण

इजरायलले सोमवार राति प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा लडाकु विमान प्रयोग गरेर आक्रमण गरिएको बताएको छ।प्यालेस्टाइनी पक्षबाट ३७० वटा रकेट प्रहार गरेपछि इजरायलले प्रत्याक्रमण गरेको हो।
गाजा स्ट्रिपमा भएका हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। इजरायलको आश्केलन सहरमा भएको रकेट आक्रमणमा एक जनाको ज्यान गएको छ।
गाजामा शासन गर्ने हमास र इजरायल दुवैले आफ्ना कारबाही बढाउने चेतावनी दिएका छन्।गाजामा इजरायलले गोप्य रूपमा एउटा अभियान सञ्चालन गरेको पत्ता लागेपछि त्यहाँ हिंसा भएको हो।
सो घटनामा हमासका एक कमान्डरसहित सात प्यालेस्टाइनी लडाकु र इजरायली पक्षका एक सदस्यको मृत्यु भएको थियो।
अहिले स्थिति कति गम्भीर?
आइतवार रातिको घटनापछि छोटो समयका लागि हिंसा रोकिएको थियो। तर सोमवार गाजाबाट इजरायलतर्फ रकेट प्रहार हुन थाल्यो।
हमासले प्रहार गरेको रकेट किब्बुट्जमा सैनिकहरू बोकेको एउटा बसमा खस्दा एक जना घाइते भएको बताइएको छ।सीमावर्ती बस्तीहरू रकेटप्रहारबाट प्रभावित भए। गाजाबाट केही उत्तरमा रहेको आश्केलनमा एउटा भवनमा रकेट खस्दा एक गैरसैनिकको मृत्यु भयो भने अर्का एक जना घाइते भए।
इजरायलले हमास र इस्लामिक जिहाद समूहलाई लक्ष्य गरेर गाजामा धेरै पटक हवाई आक्रमण गर्यो।उसले एक सयभन्दा बढी सैन्य स्थलहरूमा आक्रमण गरिएको बताएको छ।
प्यालेस्टाइनी अधिकारीहरूले इजरेली आक्रमणमा दुई लडाकुसहित कम्तीमा तीन जनाको र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ।
हमासको अल-अक्सा टीभीमा भएको भवन आक्रमणमा पछि उसको प्रसारण अवरुद्ध भयो।इजरायलले सो टेलिभिजन स्टेशन हमासको सैन्य गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।
यो सन् २०१४ को युद्धपछि इजरायल र हमासबीच भएको भीषण सङ्घर्ष हो।
हिंसा कसरी सुरु भयो?
प्यालेस्टाइनी पक्षले आइतवार अपराह्ण इजरायली समूहलाई गाजाबाट तीन किलोमिटरपर एउटा गैरसैनिक गाडीमा फेला पारिएको बताएको छ।
हमास कमान्डर मारिएपछि दुई पक्षबीच गोली हानाहन भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार त्यसपछि इजरायलले सो क्षेत्रमा विमान र ट्याङ्कबाट आक्रमण गर्यो।अन्य छ लडाकु र इजरायलको विशेष फौजका एक सैनिक पनि मारिएका छन्।
सो घटना खान युनिस नगरभन्दा पूर्वतिर भएको बताइएको छ।
इजरायलले किन कमान्डर मार्यो?
इजरायलले आफ्नो गोप्य सैन्य अभियानबारे विस्तृत विवरण दिएको छैन। तर इजरायली डिफेन्स फोर्सले सो अभियान ‘कुनै आतङ्ककारीलाई मार्न वा अपहरण गर्न नभएर इजरायली सुरक्षालाई सुदृढ बनाउन’ गरिएको बताएको छ।
जेरुसलेमस्थित बीबीसीका टम बेट्मन भन्छन् – एक इजरायली पूर्वजेनरलका अनुसार सो घटना सम्भवत: गुप्तचरी सूचना सङ्कलन गर्ने अभियान असफल हुँदा भएको हो।
त्यस्ता इजरायली अभियानको गोप्यता गाजामा खुल्नु एकदमै दुर्लभ भएको उनको भनाइ छ। हमासका प्रवक्ता फाउजी बर्हुमले आइतवारको घटनालाई ‘कायरतापूर्ण इजरायली आाक्रमण’को सङ्ज्ञा दिएका छन्।
इजरायल र हमासबीच शत्रुता
सन् २००६ मा प्यालेस्टाइनमा भएको निर्वाचनमा हमास विजयी भयो। अर्को वर्ष वेस्ट ब्याङ्क आधारक्षेत्र भएका प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह समूहसँग सङ्घर्ष गर्दै हमासले गाजामा आफ्नो आधिपत्य कायम गर्यो।
अब्बास आबद्ध रहेको प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनले इजरायलसँग शान्तिसम्झौता गरेको भए पनि हमासले इजरायलको अस्तित्वलाई स्वीकार्दैन र उसविरुद्ध हिंसा प्रयोग गर्नुपर्ने पक्षमा छ।
लडाकुहरूले गर्ने आक्रमण रोक्न भनेर इजिप्टसँगसँगै इजरायलले सन् २००६ देखि गाजामा नाकाबन्दी गर्दै आएको छ।
इजरायल र हमासबीच तीन पटक लडाइँ भइसकेको छ।
गाजाबाट रकेट प्रहार गरिनु र इजरायलबाट हवाई आक्रमण हुनु सामान्यजस्तै मानिन्छ।
बिबिसी