सरकारले तीन देशका लागि नयाँ राजदूत सिफारिस

नीलाम्बर आचार्य भारतका लागि राजदूत सिफारिस
सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको नाम सिफारिस गरेको हो । पूर्वकानुनमन्त्री आचार्य नेपाल–भारत सम्बन्ध पुनरावलोकनका निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्य पनि छन् । उनी ०४६ को जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानुन तथा न्यायमन्त्री थिए ।
भारतको राजदूतका लागि यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस भएको थियो । तर, संवैधानिक अंगका प्रमुख भइसकेका व्यक्तिलाई राजदूत बनाउन नहुने विवाद भएपछि सरकारले उप्रेतीको नाम फिर्ता लिएर आचार्यलाई सिफारिस गरेको हो । पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन झन्डै डेढ वर्षअघि राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त छ ।
मलेसियामा उदयराज पाण्डे र युएईमा कृष्ण ढकाल सिफारिस
सरकारले मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)का लागि पनि राजदूत सिफारिस गरेको छ । मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाल सिफारिस भएका हुन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।
तर, सरकारले निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छैन । अब मन्त्रिपरिषद् बैठकको निर्णय हप्तामा एकपटक मात्रै सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । बैठकपछि उनले मन्त्रिपरिषद्बाट केही महत्वपूर्ण निर्णय भएको र प्रबन्ध मिलाएर सार्वजनिक गर्ने जानकारी दिएको छ |
२६ कार्तिक २०७५