निर्मला हत्याका १०९ दिन : न्याय माग्दै बुबा अनिश्चितकालीन धर्नामा

छोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको एक सय नौ दिन बित्दासमेत प्रहरीले हत्यारा पत्ता नलगाएपछि बुबा यज्ञराज पन्त न्याय माग्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि उनले धर्ना सुरु गरेका हुन् ।
उनले यसअघि प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुखलगायतलाई भेटेर न्याय माग्दै ज्ञापनपत्र बुझाएका थिए । ‘प्रहरीले छोरीको बलात्कारी र हत्यारा सार्वजनिक नगरेपछि धर्ना बस्न बाध्य भएको हुँ, न्याय नपाउँदासम्म रातदिन धर्ना जारी राख्छु,’ यज्ञराजले भने ।
आइतबार दिनभर यज्ञराजसँगै निर्मलाका आमा, दिदीबहिनी, नातेदार पनि धर्नामा बसे । स्थानीय बासिन्दा, अधिकारकर्मी र नागरिक संघर्ष समितिका पदाधिकारीले पनि धर्ना बसेर साथ दिए । राति भने उनलाई स्थानीय बासिन्दा र अधिकारकर्मीले साथ दिएका छन् ।
१० साउनमा साथीको घरमा कापी लिन गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । मेडिकल रिपोर्टमा उनको बलात्कारपछि हत्या गरिएको देखिएको थियो ।
मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्यारा भन्दै ४ भदौमा सार्वजनिक गरेपछि अनुसन्धान गरिरहेको प्रहरीविरुद्ध स्थानीय आन्दोलित भएका थिए ।
निर्मला हत्याको ११० दिन
१० साउन : साथी रोशनी बमको घरमा गएकी निर्मला सम्पर्कविहीन ।
११ साउन : बिहान करिब ९ बजे उखुबारीमा शव फेला ।
१४ साउन : अनुसन्धानका लागि सिआइबीबाट टोली परिचालन ।
४ भदौ : जिप्रका कञ्चनपुर र सिआइबी टोलीद्वारा दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक ।
५ भदौ : नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै स्थानीयद्वारा आन्दोलन, प्रहरीको गोली लागेर एक घाइते ।
६ भदौ : कञ्चपुरका एसपी डिल्लीराज विष्ट, सिडिओ कुमार खड्का र जिप्रकाका असइ ज्ञानबहादुर सेठीको सरुवा ।
७ भदौ : गृह मन्त्रालयद्वारा सहसचिव हरिकुमार मैनालीको संयोजकत्वमा छानबिन समिति गठन, महेन्द्रनगरमा प्रहरीको गोली लागेर स्थानीय सनी खुनाको मृत्यु ।
९ भदौ : एसपी विष्ट निलम्बित ।
२६ भदौ : प्रमाण नपुगेपछि दिलीपसिंह विष्ट र बम दिदीबहिनी हिरासतमुक्त ।
३० भदौ : छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा पाँच प्रहरी (डिएसपीद्वय ज्ञानबहादुर सेठी, अंगुर जिसी, इन्स्पेक्टरद्वय जगदीश भट्ट र एकेन्द्र खड्का, असइ रामसिंह धामी) निलम्बित ।
९ असोज : छानबिन समितिद्वारा प्रतिवेदन पेस ।
२१ असोज : हरिकुमार मैनाली नेतृत्वको छानबिन समितिको प्रतिवेदन सार्वजनिक ।
८ कात्तिक : चरम लापरबाही गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय ।
१४ कात्तिक : थप चारजना व्यक्तिको डिएनएन परीक्षणका लागि नमुना संकलन ।
२५ कात्तिक : छोरीको बलात्कारी–हत्यारा सार्वजनिकको माग गर्दै बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा
धर्ना सुरु गर्दै यज्ञराजले भने– प्रहरीले नै हत्यारा लुकाएको छ, न्याय नपाउँदासम्म पानी मात्रै पिएर यहीँ बस्छु |
प्रहरी भन्छ– अनुसन्धान जारी छ
निर्मलाको बलात्कार र हत्या घटनामा अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएकोे छ । ‘अनुसन्धान टुंगिएको छैन, अहिले पनि जारी छ । शंकास्पद चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना पठाएका छौँ, हामी गम्भीर अनुसन्धानमा छौँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले भने ।
कञ्चनपुर प्रहरीले एक साताअघि शंकास्पद चारजनाको रगतको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको हो । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । त्यसअघि पनि चारजनाको डिएनए परीक्षण गरिएको थियो, तर सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयको टोलीसँगै प्रदेश र सिआइबीको टोली पनि अनुसन्धानमा खटिइरहेको जनाएको नयाँ पत्रिकामा छ |