किन यात्रुलाई सास्ती दिंदैछ बुद्ध एयर ?

काठमाडौं, २५ कात्तिक । आन्तरिक उडानमा अब्बल मानिएको निजी एयरलायन्स हाल यात्रुलाई बढि सास्ती दिन थालेका छन् । विशेषगरी बुद्ध एयरका यात्रुहरु एयरलायन्सको लापरबाहीका कारण एयरपोर्टमा समय बर्बाद गर्न बाध्य भएका छन् ।
दुईवटा जहाजबाट नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको बुद्ध एयरले तुलनात्मक रुपमा छोटो समयमै नेपाली आन्तरिक हवाइ यात्रामा कब्जा नै गरेको छ । व्यवसायिक योजनासहित चलेको बुद्धले वर्षैपिच्छे जहाजहरु थप्नाले पनि आम्दानीमा गरेको प्रगती छर्लङ्ग छ ।
तथापी पछिल्ला वर्षहरुमा यात्रु सेवामा बुद्ध एयर उदासिन रहेको यात्रुहरु गुनासो गर्छन् । गएको दशैंमा एकै दिन धेरै यात्रु बोकेर किर्तिमान कायम गरेको भन्दै सफलता सार्वजनिक गरेको बुद्ध एयरले कात्तिक २२ गते काठमाडौंबाट भरतपुर जाने यात्रुलाई सास्ती दिएको छ ।
उक्त दिन १०ः१५ को फ्लाइटबाट भरतपुर जान लागेका एक यात्रु बुद्ध एयरले सधैंजसो कम्तिमा पनि एक घण्टा ढिलो फ्लाइट गर्ने गरेको भएपनि उक्त दिन झण्डै २ घण्टा आफुलाई सास्ती दिएको बताए । ति यात्रु भन्छन्, ‘१ घण्टा अगाडि एयरपोर्ट आइपुग्नु पर्ने, अनि २ घण्टा यहाँ एयरलायन्सले कुराउने ।’ उनि प्रश्न गर्छन्, ‘ हाम्रो समय पनि मूल्यवान छ भन्ने कुरा यि धनाढ्य व्यापारीले कहिले बुझ्ने ? ’ भरतपुर मात्र होइन विराटनगर, धनगढि र भद्रपुरमा पनि यहि समस्या रहेको छ ।
तथापी पोखराको उडानमा भने यो समस्या तुलनात्मक रुपमा कम देखिन्छ । यसको मुल कारण भनेको विदेशी यात्रु बढि हुनु हो भन्ने थाहा भएको छ । नेपाली यात्रुलाई ४२०० पर्ने टिकटको मूल्य विदेशीलाई १२५ डलर लिने गरेकोले पनि चरम नाफाको लोभमा बुद्धले अन्तको फ्लाइट रद्द गरेर भएपनि पोखरामा फ्लाइट थप्ने गरेको छ |
त्यस्तै सोही दिन २ः३० को फ्लाइटमा भरतपुर जानलागेका एक यात्रुका अनुसार बुद्ध एयरले उक्त फ्लाइट रद्द नै ग¥यो । उनले तिहार मनाउनको लागि १० दिन अघि टिकट लिएको तर एयरलायन्सले एयरपोर्टमा ३ घण्टा कुराएर अन्तिममा फ्लाइट रद्द गरेको भन्दै आक्रोश पोखे । उनि भन्छन्, ‘१५ मिनेटको फ्लाइटको लागि ३७५० लिने, फ्लाइट रद्द गर्दा यात्रुको लागि विकल्प नदिने काम गैर जिम्मेवारीको पराकाष्टा हो ।’
विगतमा यात्रु सेवामा अब्बल रहेको बुद्ध एयर पछिल्लो समय ढिलो फ्लाइट गर्ने र यात्रु कम हुनासाथ उडान कटौती गर्ने जस्तो नाफाखोर प्रवृत्तिमा लागिपरेको ट्राभल एजेन्सी संचालकहरु बताइ रहेका छन् ।
विगतमा बुद्ध एयरका कर्मचारीहरुको व्यवहार अब्बल रहेको अनुभव गर्नेहरु आजकल बुद्ध एयरका कर्मचारीले घमण्डी व्यवहार देखाउन थालेको अनुभव यात्रुहरुले गर्न थालेका छन् । सानो सानो कुरामा यात्रुलाई असहयोग गर्ने तथा फ्लाइट तलमाथी गर्दा, यात्रुकै कारण टिकटको समय सार्दा वा रद्द गर्दा चर्को मूल्य लिने गरेका छन् ।
सबैले मनपराएको बुद्ध एयर अहिले आएर सास्ती दिने एयरलायन्स बन्नुमा लगानीकर्ताको नाफाखोर प्रवृत्ति र कर्मचारीहरुको स्वार्थी स्वभाव रहेको यात्रुहरुको ठम्याइ रहेको छ ।सरल पत्रि का बाट