म ट्रम्पलाई कहिले पनि माफ गर्न सक्दिँन : मिसेल ओबामा

एजेन्सी । अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो बहुप्रतिक्षीत आत्मवृतान्त ‘बिकमिङ’ मा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको घृणा र ह्वाइट हाउस आउनअघि र त्यहाँ रहँदाको आफ्नो जीवनबारे खुलासा गरेकी छिन् ।
द वासिङटन पोष्टका अनुसार पुस्तकमा ओबामाले राष्ट्रपति ट्रम्पलाई कहिले पनि माफ गर्न नसक्ने बताएकी छिन् ।
ओबामाका अनुसार तत्कालिन राष्ट्रपति बाराक ओबामाको जन्मदर्ताको वैधानिकतामाथि प्रश्न उठाएर ट्रम्पले आफ्नो परिवारमाथि सुरक्षा खतरा बढाएका थिए ।
‘कुनै दिन कुनै सरफिराले बन्दुक बोकेर मेरो परिवारमाथि हमला गर्न आएको भए के हुन्थ्यो ? त्यो व्यक्ति मेरो छोरीहरुको पछि लागेको भए के हुन्थ्यो ?,’ उनले लेखेकी छिन्, ‘डोनाल्ड ट्रम्पले आफ्नो अभिव्यक्तिले मेरो परिवारलाई जोखिममा पारेको थियो । र, यसको लागि म उनलाई कहिल्यै माफ गर्न सक्दिँन ।’
यता, ओबामाको किताबबारे शुक्रबार प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘उनले उक्त किताब लेख्न ठूलो रकम पाएकी छिन् र यसले केही विवाद ल्याउने पक्का थियो ।’
उनले पनि आफूले कहिल्यै पनि मिसेलका पति बाराक ओबामालाई माफ गर्न नसक्ने बताए ।
‘हाम्रो देशको सेनाका लागि उनले गरेको कुरालाई म माफ गर्न सक्दिँन । उनले यो देशलाई हामी सबैका लागि असुरक्षित बनाए,’ ट्रम्पले भने ।
२४ कार्तिक २०७५