लुम्बिनीमा पहिलोपटक बौद्धग्रन्थ त्रिपिटक वाचन हुने

लुम्बिनीमा पहिलोपटक बौद्धग्रन्थ त्रिपिटक वाचन समारोह गर्न लागिएको छ । तीन दिनसम्म हुने त्रिपिटक वाचनले लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।विगत १५ वर्षदेखि भारतमा मात्र त्रिपिटक वाचन भइरहेको थियो।
बौद्धधर्ममा त्रिपिटक विशेष महत्त्व रहे पनि यसबारे धेरै नेपाली अनभिज्ञ रहेको कारण नेपालमै पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो।
मायादेवी मन्दिर पवित्र उद्यानभित्र गरिने त्रिपिटक वाचन कात्तिक २८ गते बिहान ७ बजेदेखि सुरू भई ३० गतेसम्म चल्ने छ।
यसका लागि १८ देशका ७ सयभन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउँदैछन्।
त्रिपिटक शान्तिका अग्रदूत गौतमबुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले बताए।
‘त्रिपिटक गौतमबुद्धले ४५ वर्षसम्म देशना गर्नुभएको बुद्धवचनहरूको संगालो हो, उनले भने, ‘यसमा गौतमबुद्धले गर्नुभएको सूत्रहरूको संगालो सूत्रपिटक, भिक्षु र गृहस्थहरूलाई कस्तो खालको अनुशासन चाहिन्छ भन्ने नियमहरूको संगालो भिनय र चित्तसम्बन्धी संगालो अभिधम्ब छ, सूत्र भिनय र अभिधम्बको संगालोलाई नै त्रिपिटक भनिन्छ।’
गौतमबुद्धले आफ्ना अनुयायीहरूलाई तिमीहरूले गुरु मान्ने भनेको धर्मलाई नै हो भने अनुसार त्रिपिटक वाचन गर्न थालिएको उनले बताए।
त्रिपिटक वाचनले लुम्बिनीको आध्यात्मिक, सांस्कृतिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन महत्वपूर्ण योगदान दिन सक्ने आयोजक संस्थाका स्थानीय सचिव चेतन पन्तले बताए।
अमेरिकन बुद्धिष्ट एशोसिएशन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
कार्यक्रमका लागि भोजन, आवास, यातायात व्यवस्थापन सबै तयारीको कामलाई तीव्र बनाइएको छ ।
कात्तिक २१, २०७५