आज यमपञ्चकको पहिलो दिन काग तिहार,काग सम्बन्धि तथ्यहरु सहित

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ।
तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १९ गते सोमबार ,२० गते कुकुर तिहार ,२१ गते लक्ष्मी पूजा /नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३९ र म्हपूजा अर्थात् आत्मपूजा , २२ गते गोवर्धन पूजा र २३ गते भाइटिका परेको छ |
यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ।
काग तिहार
यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उनले भने। यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ।
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ : वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे। उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो। भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ।
विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए।
यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा “हामी त्यसै आएनौँ बलि राजाले पठाए” भनी भट्याउने गर्छन्। लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ। भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन्।
लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुआतदेखि नै गर्न थालिएको छ। अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन्। यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ।
तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ। यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन्। तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ।
यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ। भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि सो साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताए।
धन्वन्तरि जयन्ती
वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरि जयन्ती मनाइँदैछ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन्। विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो। त्रिविको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।
धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ।
धनतरेस
कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ।
*****
काग कराउदा हुने ८ शुभ -अशुभ
मानिसहरु ‘काग कराए अशुभ हुन्छ’ भनि सदियौ देखि मान्दै आएका छन्। सत्यता कति छ त्यो फरक कुरा हो तर काग कराउँदाको दिक्कलाग्दो आवाज भन्ने पक्का सुन्न मन लाग्दैन। काग कराएमा शुभ हुन्छ भन्ने अवस्था पनि चर्चित नै छन्। पढौं कागसंग जोडिएका शुभ र अभु घटनाकाबारेमा गरिएको चर्चा,
मान्यता यो छ की, कागको हुल घरको छाना वा छतमा आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै संकट आउनेवाला छ।
मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ। कुनै ठुलो इच्छा पुरा हुने संकेत गर्छ।
बाटोमा हिड्दै गर्दा काग कुनै भाडाबाट पानी पिइरहेको देखिएमा शुभ मानिन्छ। धन लाभ हुन्छ अनि जुन कामको लागि हिडिएको थियो त्यो सफल हुन्छ।
घरको छानामा दक्षिण तर्फ मुख गरेर काग कराएको छ भने अशुभ मानिन्छ। घरमा कुनै मृत्युतुल्य घटना हुने संकेत गर्छ।
दिउँसोको १२ बजेभन्दा अघि रुखमा बसेको कागको स्वर पुर्व वा उत्तर दिशाबाट आएको छ भने शुभ मानिन्छ। यो स्त्री सुखको संकेत मानिन्छ।
कागले शरीरमा ठुगेँमा शारिरीक र मानसिक पिडा हुने मान्यता छ।
काग कसैको टाउको भन्दा माथी बसेको खण्डमा अशुभ मानिन्छ। धनको नोक्सानी र रोगको भय हुने मान्यता छ।
बिहानीको समय काग उड्दै आएर खुट्टा छुन पुगे निकै शुभ मानिन्छ। जीवनमा उन्नती हुने र धन आर्जन हुने मान्यता छ |
*****
काग किन तपाईँले सोचेभन्दा बाठो? ६ वटा कारण पढ्नुस्
आजदेखि नेपालीहरुले धुमधामका साथ मनाउने तिहार सुरु भएको छ। कागलाई पूजा गर्दै तिहारको पहिलो दिन मनाइन्छ। मानवजाति र कागबीच विगतदेखि नै अनौठो प्रकारको सम्बन्ध छ। मानिसहरु कागलाई मृत्युको वा खराब कुराको संकेतको रुपमा पनि हेर्छन्। सायद कागको कालो रंग यसको कारण हुनसक्छ। कागलाई किन बाठो मानिएको छ त? विश्वका विभिन्न देशमा भएका केही अध्ययनले कागको बठ्याइँ पुष्टि गरेको छ।
कागले तपाइँको अनुहार सम्झन सक्छ
कागको समूहमा गएर कुनै एउटा कागलाई हेर्नुस्। अर्कोपटक त्यही समूह भेट्दा तपाइँले पहिले हेरेको काग खोज्नुस्। अहँ, पत्ता लगाउन गाह्रो छ, किनकी ती सबै काला र उस्तै हुन्छन्। तर तपाइँले पहिले हेरेको कागले भने तपाइँलाई चिन्छ। सिएटल विश्वविद्यालयका विद्यार्थीहरुले कागमाथि गरेको अध्ययन अनुसार कागले मान्छेको अनुहार चिन्छ।
अध्ययनका क्रममा विश्वविद्यालयका वैज्ञानिकले ७ वटा कागलाई समातेर उनीहरुमा एउटा चिनो लगाएका थिए। कागलाई समाउँदा र चिनो लगाउँदा वैज्ञानिकले छालाकै रंगको मास्क लगाएका थिए। समूहमा छोडिएका ७ वटा कागले जतिपटक मास्क लगाएका ती वैज्ञानिकलाई देखे उनीहरुमाथि खनिए। यो अध्ययनले कागले हरेक मान्छेलाई चिन्छ भन्ने मात्र पत्ता लागेन, कागले बदला लिन्छ भन्ने पनि पत्ता लाग्यो।
अध्ययनका क्रममा त्यस्तै मास्क लगाएर अन्य (जो काग समाउने र चिनो लगाउने काममा समावेश थिएनन्) व्यक्तिहरुलाई कागका अगाडि घुमाइयो तर कागले कुनै प्रतिक्रिया जनाएनन्।
कागले एकअर्का विरुद्ध षडयन्त्र गर्छन्
त्यसो भए ती वैज्ञानिकहरुमाथि काग किन खनिए त? यहाँसम्म कि जुन कागलाई समातिएको थिएन ती कागले पनि मास्कधारी वैज्ञानिकमाथि धावा बोले। कारण सजिलो थियो, समातिएका कागले अरु कागलाई त्यो कुरा भने। वैज्ञानिकहरुले के पत्ता लगाए भने कागले ‘का का’ गर्दै हल्ला मात्र गरेका हुँदैनन्, उनीहरुले एकआपसमा कुरा गरिरहेका हुन्छन्। उनीहरुको आफ्नै भाषा हुन्छ।
अध्ययनकै क्रममा देखियो कि एउटा समूहको कुनै कागले तपाइँलाई कहिल्यै देखेको छैन तर समूहको कुनै एउटा कागलाई तपाइँले केही नराम्रो गर्नुभएको छ भने तपाइँलाई सबै कागले चिन्छन्। किनकि तपाइँको बारेमा एउटा कागले अरु सबै कागलाई बयान गरिसकेको हुन्छ।
यो समूहमा मात्र नभएर जेनेरेसनसम्म पुग्छ। त्यसैले तपाइँले एउटा कागलाई ढुंगा हानेर धपाउनु भएको छ भने त्यसको सन्तानसम्मले तपाइँलाई चिन्छ। त्यतिमात्र हैन, कागले तपाइँलाई नदेखि पनि तपाइँले कागविरुद्ध गरेको षडयन्त्र आवाजबाटै थाहा पाउँछ।
सम्झनाशक्ति
क्यानडाको ओन्तारियो प्रान्तको चथाम् भन्ने ठाउँमा कागहरुले आफ्नो बसोबास सुरु गरे र आफ्नो बसाइँसराइको रूट त्यही राज्यलाई बनाए। फार्मिङका लागि प्रख्यात ठाउँमा लाखौंको संख्यामा कागहरुको आवजतावत हुन थाल्यो। त्यसले फार्मिङमै असर गर्यो। फलस्वरुप त्यहाँका मेयरले सबै काग मार्ने घोषणा गरे। त्यो बेला चथाम्मा कम्तिमा ६ लाख काग रहेको अनुमान गरिएको थियो। ६ लाख मध्ये कम्तिमा ३ लाख काग मार्ने योजना थियो।
तर काग समुदायले यो षडयन्त्र थाहा पायो। काग मार्ने घोषणा भएकै दिन शिकारीहरु काग मार्न हिँडे तर जम्मा एउटा मात्र काग मार्न सके। त्यो वर्ष राज्यले त्यही एउटा कागभन्दा बढी मार्न सकेन।
एउटा काग मरेको हल्ला काग समुदायमा यति छिटो फैलियो कि सबै कागहरु त्यहाँबाट भागे अथवा शिकारीले ताक्ने निशानाभन्दा माथिबाट उडन थाले। ६ लाख कागमा जम्मा एउटाको मात्र मृत्यु भयो। कालान्तरमा त्यो एउटा काग मरेको स्थानबाट सबै काग बसाइँ सरे। त्यो एउटा काग मरेको वर्षौंपछि पनि बसाइँसराइको क्रममा समेत कुनै पनि काग पहिला काग मारिएको स्थान वरिपरी गएका छैनन्।
उपकरण र समस्या समाधान
कागमाथि अध्ययन गर्ने शोधकर्ताहरुले प्रारम्भिक चरणमा एउटा तारमा मासुको टुक्रा बाँधेर कागले कसरी समस्या समाधान गर्छ भनेर हेरे। हुनत, कागको बारेमा एउटा कथा नै छ, गाग्रोमा रहेको आधा पानी खान नपाएपछि ढुंगा टिपेर गाग्रोमा भर्दै पानी माथिसम्म ल्याएर खाएको कथा। तर यो कथाको वैज्ञानिक पुष्टि भएको छैन र यसैलाई आधिकारिक पनि मानिँदैन। पछिल्लो चरणमा कागको एक प्रजातिमाथि गरिएको अनुसन्धानले भने कथासँग मिल्दोजुल्दो तथ्य पत्ता लागेको छ।
यो अध्ययनमा कागलाई एउटा साना साना ढुंगा भएको कोठामा राखिएको थियो। त्यही कोठामा पानी भएको ट्यूबमा कागले नभेट्ने गरी गड्यौला राखियो। यो अध्ययनको क्रममा दुईवटा कागले दुईपटक ट्रिक पत्ता लगाउन प्रयास गरे र अरु दुईवटा कागले पहिलो प्रयासमै सफलता प्राप्त गरे। यसको सबैभन्दा महत्वपूर्ण कुरा कागले आफ्ना गल्ती र खराब प्रयास मात्र पत्ता लगाएनन्, उनीहरुले ट्युबबाट बढी पानी बाहिर निकाल्न र गड्यौला भेटिने गरि ठूला साइजका रोडा समेत हाले।
योजना
धेरैलाई योजनामा खासै चाख हुँदैन किनकी योजना बनाएपछि काम गर्नुपर्छ। मानिसमात्र नभएर प्राय: जनावरले योजना बनाउँछन् तर यी सबैमा काग अगाडि छ। काग अवसरवादी चरा हो, त्यसैले यसलाई चोरको रुपमा चिनिन्छ। कागले कुनै कुरा खानेकुरा खाइरहेको छ भने उसले जहिले पनि अर्को कागबाट लुकाउँछ। यदि अरु कसैले देखेको वा हेरेको थाहा पायो भने यसले आफूसँग केही नभएको अभिनय गर्छ। अझ उसले खानेकुरा आफ्ना खुट्टातिर लुकाएको नाटक गर्छ तर वास्तविकतामा उसले खानेकुरा आफ्नो छातीमुनि लुकाएको हुन्छ। जब काग खानेकुरा बोकेर उड्छ तब अर्को हेरिरहेको काग उसलाई पछ्याउन थाल्छ। उसलाई थाहा हुन्छ कहिलेकाहीं बाठो हुँदा बल्ड्यांग खानसक्छ। यसले काउन्टर र इन्काउन्टरको स्थिति पैदा गर्छ।
सिक्ने क्षमता
कागले मान्छेहरुको व्यवहारलाई नजिकबाट नियालेको हुन्छ र प्राय: त्यसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छ। केहीले कागले फुटपाथमा विष्टा खसाउँदाको उचाइको बारेमा अध्ययन गरेका छन्। तर कतिपय अवस्थामा उनीहरुले गुरुत्वाकर्षणको नियम अनुमान नगरी बस, कारको माथि विष्ट्याइदिन्छन् र हामीलाई उनीहरुको विष्टा सोहोर्न लगाउँछन्।
यी कागहरु बाटोमा विष्ट्याउनु पर्दा ट्राफिक बत्तीको पनि याद गरिरहेका हुन्छन्। त्यसको समय, स्पीड सबै कुरा कागले नजिकबाट नियालेका हुन्छन्। उनीहरु ठ्याक्क रातो बत्ती बलेको बेला कारमाथि वा हरियो बत्ती बलेको बेला पैदलयात्री माथि विष्ट्याइदिन्छन् जसका कारण मान्छेहरुले कागमाथि आक्रमण गर्ने समय नरहोस्। यदि तपाइँलाई ड्राइभिङको अनुभव छ भने तपाइँलाई थाहा होला, जम्मा १० प्रतिशत मान्छेहरुसँग मात्र यो गतिसँग तालमेल गर्नसक्ने क्षमता हुन्छ। (स्रोतः क्रायक्ड)
*****