बिजुलीको तारबाट आगोलागि हुँदा ट्याक्टर जलेर ध्वस्त

राजेश रुम्बा तामाङ,चितवन-पूर्वि चितवन राप्ती नगरपालिका वडा नं ७ स्थित फाइभ ग्रुपमा पराल बोकेको ट्याक्टरमा बिजुलीको तारबाट आगोलागि हुँदा पराल सहित ट्याक्टर जलेको छ ।
मंगलबार मध्याह्न २ बजेतिर भएको आगलागी निभाउन स्थानीयबासी र प्रहरीले एक घण्टा प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि जिल्लामा रहेको एकमात्रै अग्नि नियन्त्रक (दमकल) लार्इ जानकारी गराएका थिए । तर दमकल एक घण्टापछि मात्रै आइपुगेपछि स्थानीयबासी सरकारबिरुद्ध रुष्ट भएका छन् ।
एक त जिल्लामा आवश्यक दमकल छैन भएको पनि बेलामा आइपुग्दैन र अर्को तर्फ बिजुलीको नाङ्गो तार जताततै लत्रेको हुँदा कुन बेला के हुने हो भन्ने स्थानीय मिना तामाङले चिन्ता पोखे । मध्याह्न घटेको घटनामा त खबर गरेको घण्टौंपछि दमकल आइपुग्छ राति कसैको घर जलेर खरानी भइरहँदा पनि नआपुग्ने भो उनी थप्छिन्।
विद्युत प्राधिकरणको लापरबाहीका कारण बाटो वरिपरि बिजुलीको पोल ढल्नु र तार तल लर्किनु सो घटनाको मुख्य कारण भएकोले यस्तो घटना पुनः नदोहोर्याउन प्राधिकरणले तत्काल काम गर्नु पर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।
स्मरण रहोस्,- यही समस्यालाई बुझेर होला केही दिन अघि मात्र स्थानीय चितवनका सरकारले संयुक्त लगानीमा दमकल खरिद गर्ने निर्णय गरेका थिए ।