‘ब्राजिलमा उग्र–दक्षिणपन्थी जेर वोल्सोनारा राष्ट्रपति पदमा निर्वाचित

एजेन्सी । ब्राजिलको राष्ट्रपति निर्वाचनमा उग्र–दक्षिणपन्थी उम्मेद्वार जेर वोल्सोनारो भारी मतले विजयी भएका छन् ।ब्राजिलको निर्वाचन आयोगले दिएको जानकारी अनुसार वोल्सोनारोले कुल खसेको मतमध्य ५५.२% मत पाउदा उनका प्रतिद्वन्दी फरनान्डो हद्दादले ४४.३% मत पाएका छन् । हद्दाद सन् २००३ देखि १३ वर्ष ब्राजिलमा शासन गरेको वामपन्थी दल वर्कस पार्टीबाट उठेका थिए ।
वोल्सोनारोले निर्वाचन प्रचारको क्रममा ब्राजिलको भ्रष्टाचार उन्मुलन गर्ने तथा अपराध दर घटाउने वाचा गरेका थिए ।यो पटक ब्राजिलको राष्ट्रपति निर्वाचन अभियान निक्कै ध्रुविकृत रह्यो । निर्वाचनका दुवै उमेद्वारले आफ्ना प्रतिस्पर्धीले जितेमा ब्राजिल ध्वस्त हुने डर देखाएका थिए ।
वोल्सोनारोको जीतको अर्थ
बोल्सोनारोको जीतसगैं ल्याटिन अमेरिको सबैभन्दा ठूलो राष्ट्र स्पष्ट रुपमा दक्षिणपन्थ ध्रुवतर्फ सरेको छ । पछिल्लो दुई वर्ष ब्राजिललाई कन्जरभेटिभ मिचेल टेमरले नेतृत्व गरिरहेका थिए । भ्रष्टाचारको आरोपमाझ निर्वाचित राष्ट्रपति डिल्मा रुसेफ महाअभियोग लागेर हटेपछि संसदबाट चुनिएका टेमर सत्तामा आएका थिए ।
सत्ता छाड्ने बेला टेमरप्रति जम्मा २% जनसमर्थन रहेको मतसर्वेक्षणहरुले देखाएको थियो । स्थापित राजनीतिज्ञहरु प्रति कायम रहेको यही असन्तुष्टिले गर्दा बाहिरी राजनीतिज्ञका रुपमा चुनावमा प्रचार गरेका वोल्सोनारोलाई मत तान्न सहयोगी भएको थियो ।
जीत पछि बोल्दै वोल्सोनारोले आफ्नो सरकार ‘लोकतन्त्र र संविधानको रक्षक’ हुने बताए ।
“यो कुनै एक पार्टी वा व्यक्तिको वाचा होइन, यो देवता अघि गरिएको प्रतिज्ञा हो,” आफ्ना समर्थकहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, “ ब्राजिलियन जनताको अघि मैले जनता र देशप्रति प्रतिवद्ध एक असल सरकार निर्माण गर्ने प्रतिवद्धता गरेको छु । ”
“हामी ब्राजिलको भाग्य मिलेर बदल्नेछौं ।”
आलोचकहरुले बोल्सोनारोको शासनमा नागरिकहरुको स्वतन्त्रता कटौती हुने र ब्राजिलको संविधान अवमुल्यन हुने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । पूर्व–आर्मी क्याप्टेन वोल्सोनारोले बाजिलमा कायम सैनिक शासनप्रति आफ्नो आशक्ति व्यक्त गरेका छन् ।
हारपछि बोल्दै प्रतिद्वन्दी फरनार्डो हद्दादले अब ‘राजनीतिक प्रतिपक्षमा सहभागी हुने आफ्नो जिम्मेवारी’ भएको बताए । साथमा उनले ‘आफूलाई मतदान गरेका ‘४.५ करोड मानिसहरको स्वतन्त्रता रक्षा गर्ने’ प्रतिज्ञा गरे ।
उनले बोल्सोनरोलाई मतदान नगरेकाहरुको अधिकारको सम्मान गर्न पनि माग गरे ।