प्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा उपचार हुदै ,कोको पुगे भेट्न ?

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर उपचार भइरहेको छ । गए राति तीन बजे अस्पताल पुर्याइएको थियो ।
ओलीको उपचार भइरहँदा नेताहरु अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल अस्पताल पुगेका थिए ।
यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि प्रधानमन्त्री भेट्न अस्पताल पुगेका छन् ।
त्यसैगरी गृहमन्त्री राम बहादुर थापा र नेता भीम रावललगायत पनि अस्पताल पुगेका थिए । अस्पतालमा ने क पाका नेता कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको छ ।
महासचिव विष्णु पौडेल, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायका नेकपाका नेता, सांसद र कार्यकर्ताका साथै शुभेच्छुक अस्पताल पुगेका हुन् ।
चिकित्सकहरुका अनुसार ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको हो ।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ ।
अस्पतालमा भीड बढेपछि नेता–कार्यकर्तालाई भेट्न नआउन निर्देशन
ने क पा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले टिचिङ अस्पताल परिसरमा भीड बढेपछि नेता कार्यकर्तालाई भेट्न नआउन निर्देशन दिएको छ। लहरे खोकी र शरीरमा चिनीको मात्रा असन्तुलित भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीलाई सङ्क्रमण बढ्ने खतरा रहेकाले भेट्न नआउन निर्देशन दिइएको ने क पाका नेता राजन भट्टराईले बताए।
त्यस्तै, भेट्न आएका ने क पाका नेता माधव नेपालले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको बताउँदै आफूले दुई दिन राख्न सुझाव दिएको जानकारी दिए।
१२ कार्तिक २०७५