शिक्षाका लागि हेमन मोक्तान तामाङको सांगीतिक अभियान

काठमाडौं : गायक हेमन मोक्तानले ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ नारासहित बेलायतमा कार्यक्रम गर्ने भएका छन्। हेमनले आफ्नो गैरनाफामूलक संस्था मानव जीवन संरक्षण मञ्चमार्फत बेलायतबाट अभियानको सुरुआत गर्न लागेको बताए।
पाँच करोडको अक्षयकोष निर्माण गरी नेपाल सरकारद्वारा पिछडिएका क्षेत्र घोषित सातवटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुने गरी सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उद्देश्यका साथ मञ्चले अभियान अगाडि बढाएको हो।
लन्डनको ग्रिनफोर्ड टाउन हलमा नोभेम्बर १७ बृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन कार्यक्रम गरी उद्घाटन गरिने हेमनले जानकारी दिए। यस अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेल पनि सहभागी हुनेछन्। ‘हाम्रो अभियानसँगै सांस्कृतिक प्रस्तुति पनि दिनेछौं’, उनले भने।
अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यती नेपाली एसोसियसन र गैरआवासीय नेपाली संघ बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुँदैछ। कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेलायत पुग्दैछन्। बेलायतपछि क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापानलगायत २० मुलुकमा अभियान पुर्याउने लक्ष्य रहेको उनले बताए। पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा हुनेछ।
१० कार्तिक २०७५