नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्री हो : कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल दक्षिण एसिया क्षेत्रको हव हुनसक्ने बताएका छन् । ललितपुरमा नेपाल इन्जिनियर एशोशियसनले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्रीको रुपमा रहेको उल्लेख गरे ।
नेपालले अब लोडसेडिङको चिन्ता भन्दा पनि उत्पादन भएको विद्युत व्यवस्थापन गर्ने चिन्ता लिनुपर्ने अवस्था आएको बताए । बेलुकाको अत्यधिक बिद्युत खपत हुने बेलामा भारतबाट १ सय देखि २ सय मेगावाट बिद्युत आयात भएपनि दिनको अरु समयमा नेपालबाट बिद्युत निर्यात भइरहेको उनको भनाई छ ।
नेपालमा पहिलोपटक २ सय २० केभीको ढल्केबर लाइन पहिलोपटक चार्ज गरेको बताउँदै तामाकोशी आएपछि भारतसँग जोडिने र नेपालबाट निर्यात गर्न सकिने बताए । तामाकोशी लगायतका त्रिशुली थ्रिए, कुलेखानी लगायतका आयोजना पाँच छ महिनाभित्र आउँदै गरेको, चिलिमे, तामाकोशी पनि छिट्टै आउने र यी आयोजनाबाट झन्डै ८ सय मेगावाट बिद्युत थपिन लागेको छ ।
निजी क्षेत्रका समेत गरेर १ बर्षमा एक हजार/बाह्र सय मेगावाट बिद्युत आउने अवस्थामा रहेको र यसले नेपालको उर्जा क्षेत्रमा व्यापक उपलब्धी हासिल हुने उनले बताए । अहिले २५ सय मेगावाट बिद्युत उत्पादन हुने आयोजनाहरु निर्माण भइरहेको बताउँदै उनले ७५ वटा आयोजना सञ्चालनमा रहेको जानकारी दिए । यस्तै २१ सय मेगावाट पिपिए भएका आयोजनाहरु छन् ।
प्राधिकरणले नेपाललाई सन् २०३० सम्म ११ हजार मेगावाट, सन् २०२५ सम्म ६ हजार मेगावाट बिद्युत आवश्यक पर्ने प्रक्षेपण समेत गरेको छ । सो माग पूरा गर्नका लागि दीर्घकालीन योजनाका साथ प्राधिकरणले काम गरिरहेको उनले बताए ।
१९२० को जुलाई मा तामाकोसी आएपछि हिउँदमा मागअनुसार बिद्युत वितरण गर्न सजिलो हुने उनले बताए । जाडो याममा नेपालमा बढी बिद्युत खपत हुने र भारतमा गर्मी समयमा बिद्युत खपत हुने भएकोले इनर्जी ब्याङ्किङ प्रणालीबाट बिद्युत आदान–प्रदान गर्ने योजना राखिएको छ । यसमा बिद्युत किन्ने र बेच्ने भन्दा आवश्यकताका आधारमा दिने र लिने प्रक्रिया हुने उनले बताए ।
उनले नेपालको बिद्युत उत्पादन दर बढ्दै गएपनि बजार ब्यवस्थापनका लागि अहिलेदेखि नै कार्ययोजना बनाएर काम गरिरहेको बताए । यसका लागि बंगालदेश र चीनसँग बिद्युत बिक्रीका लागि अन्र्तराष्ट्रिय प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको बताए ।
बिआरआई अन्तर्गत चीनले दक्षिण एसियासँग बिद्युत प्रशारण लाइनमार्फत पनि जोडिन खोजेको उल्लेख गरे । चीनले तिब्बतमा ७ सय मेगावाट बिद्युत सोलारबाट उत्पादन गरिरेहेको बताउँदै तिब्बतमा सौर्य उर्जाको अत्यधिक सम्भावना रहेको बताए । यदि भारत र चीनबीच बिद्युत आदानप्रदान गर्ने अवस्था आउँदा नेपाल ट्रान्जिट बन्न सक्ने हुँदा नेपालको प्रशारण लाइन प्रयोगबाट समेत आर्थिक लाभ हासिल गर्न सक्ने उल्लेख गरे को रातोपाटिमा छ |
सार्क देशले १५ सय ६९ गिगावाट बिद्युत उपयोग गरिरहेको बताउँदै उनले चीन एक्लैको ६ हजार गिगावाट बिद्युत उपयोग गरिरहेको बताए । सार्क क्षेत्रको बिद्युत माग २ सय ११ गिगावाट रहेको र चीनको १२ सय गिगावाट बिद्युत माग रहेको बताउँदै उनले सार्क देशमा चीनले प्रयोग गरेको आधारमा १५ लाख मेगावाट बिद्युत माग रहेको उल्लेख गरे । सार्क क्षेत्र तथा चीन उद्योग तथा अन्य क्षेत्रमा विकासशील अवस्थामा रहेकोले बिद्युतको माग अत्यधिक रहेको उल्लेख गरे ।