बौद्ध धर्मावलम्बी ‘अभिधम्म दिवस’ मनाउँदै

काठमाडौं, कात्तिक ७ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले बुधबार ‘अभिधम्म दिवस’ मनाइरहेका छन् ।
भगवान् गौतमबुद्धले आफ्नो जन्मदिने आमा मायादेवीको गुणलाई स्मरण गरी ‘तावंतिस देवलोक’मा गइ तीन महिनासम्म आमा र हजारौं देव ब्रह्महरुलाई अभिधम्म ज्ञान दिइ सकास्य (हाल भारतमा) फर्किएको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
बौद्धधर्मको चित्तसम्बन्धी गम्भीर दर्शनको प्रमुख शिक्षा भगवान् गौतम बुद्धले आमालाई दिएको बौद्धग्रन्थमा उल्लेख रहेको छ ।
अभिधम्ममा शुद्ध धर्मस्वरुप परमार्थ तत्वहरुको वर्णन छ । जसमा चित्त, चेतसिक, रुप र निर्वाण चार परमार्थ तत्व छन् ।
अभिधम्ममा धम्मसंगिणी, विभंग, धातुकथा, पुग्गल पञ्ञत्ति, कथावत्थु, यमक र पट्ठाण गरि सात भाग रहेको हुन्छ ।
यसदिन विश्वभरि नै चैत्य तथा विहार र महाविहार, गुम्बाहरूमा अभिधम्म सूत्र पाठसहित विशेष पूजाआजा र दीप प्रज्ज्वलन गरी दीपावलीसमेत गरिन्छ ।
प्रज्ञप्त र परमार्थ तत्व राम्रोगरी छुट्याउने ज्ञान दिनका लागि अभिधम्म सूत्र पाठ गरिन्छ ।
नेपालमा पनि आश्विन शुक्ल पूर्णिमाको आजको दिन कतिंपुन्हीकारुपमा ‘अभिधम्म दिवस’ मनाइन्छ ।
अस्थिधातु सर्वसाधारणका लागि सार्वजनिक
सोही अवसरमा बुधबारै ललितपुरको अक्षेश्वर महाविहारमा भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ ।
अस्थिधातुको विशेष पूजा गरी धारणी र अभिधम्मलगायतका पाठहरुसमेत गरिएको छ ।
बौद्धधर्मका मुख्य तीन ग्रन्थ सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक हुन् ।
प्रज्ञप्त भनेको अस्तित्वविहीन काम चलाउका लागि उच्चारण गरिने समुत्ति सत्य हो । त्यसको कुनै वास्तविक अस्तित्व हुँदैन । त्यसैले संसार केवल चित्त, चेतसिक र रुपको खेलमात्र हो भनिएको छ ।
सूक्ष्मरुपमा संसारलाई छर्लंग हुनेगरी देखाएकाले र सबैलाई देखाउने सामर्थ्य भएकाले गौतम बुद्ध सम्यक सम्बुद्धरुपमा आज विशेष पूजासमेत गरिन्छ ।
यसदिन स्वयम्भू महाचैत्य, बौद्धको खास्ती चैत्य र चारुमति विहार चैत्यलगायत नेपालभरिका चैत्यहरुमा महादीप दानसमेत गरिन्छ ।
यसैदिन विश्वभरका थेरवादी भिक्षुहरूको तीनमहिने वर्षावाससमेत सम्पन्न हुन्छ । साथै, विश्वभरका थेरवाद विहारहरुमा आजैदेखि एक महिना कथिन उत्सवसमेत सुरु भएको छ ।